मध्यविन्दु जिल्ला अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव


नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्ला स्थित मध्यविन्दु जिल्ला अस्पताल सहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको हो ।
जिल्ला अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गरि हाल उक्त उपचार सेवा दिन नसक्ने जनाएको छ । जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार केन्द्रबाट भ्याक्सिन प्राप्त नभएपछि जिल्ला अस्पतालको सेवा रोखिएको छ । अस्पतालमा मासिक रुपमा करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएको थियो । भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा मार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र त्यहाँबाट आफूहरूले ल्याउने गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । हाल केन्द्रमानै भ्याक्सिनको अभाव भएको भन्ने जानकारी आएको उहाँको भनाई छ । रेबिज विरुद्धको भ्याक्सिन अभाव भएसँगै अस्पतालको सेवा समेत प्रभावित बनेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ‘ केन्द्रमानै भ्याक्सिन अभाव भएको भन्ने बुझिएको छ, त्यसले गर्दा हामीकहाँ समेत भ्याक्सिन नहुँदा सेवा रोकिएको छ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ।भ्याक्सिन आउन कति समय लाग्छ भन्ने एकिन नभएको उहाँको भनाई छ । भ्याक्सिन नआउँदा सम्म अस्पतालबाट सेवा रेबिज विरुद्धको भ्याक्सिन सेवा दिन नसकिने अधिकारी सुवेदीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय नवलपुरको स्टोरमा समेत रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ । आवश्यक मात्रामा भ्याक्सिन नआउँदा अभाव हुन थालेको स्वास्थ्य कार्यालयका रेबिज विरुद्धको भ्याक्सिन व्यवस्थापनका फोकल पर्सन डिल्लिराम तिवारीले बताउनुभयो । ‘हामीकहाँ यस्तै ८÷१० भायल होला , केन्द्रबाट भ्याक्सिन पर्याप्त नआउँदा अभाव भएको छ’ तिवारीले भन्नुभयो । केही दिन भित्र भ्याक्सिनको व्यवस्थापन नभए भ्याक्सिन नभएको सूचना जारी गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।
जिल्लामा रेबिज विरुद्धको भ्याक्सिन मध्यविन्दु जिल्ला अस्पतालका साथै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ ।

प्रतिक्रिया