अब सरकारी सेवा लिन कागजात बोक्न नपर्ने, नागरिक एपबाट क्युआर स्क्यान गरे पुग्ने


काठमाडाैं – पछिल्लो समय नेपालमा क्युआर प्रविधि लोकप्रिय हुँदै गएपछि नागरिक एपमा समेत क्युआर कोड सुविधा उपलब्ध भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक भएसँगै क्युआर सुविधा पनि थप भएको हो ।

सरकारी कार्यालय होस् वा बैंक तथा वित्तीय संस्था, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय होस् वा शिक्षण संस्था, सबैलाई नागरिकको पहिचान प्रमाणीकरण सधैं झन्झटिलो हुने गरेको छ । अर्कोतर्फ कुनै सेवा लिन नागरिकताको फोटोकपी, सम्बन्धित कागजात अनि पासपोर्ट साइजको फोटो साथमा बोकेर जानुपर्ने झन्झट उस्तै हुन्छ ।

त्यसमाथि व्यक्तिगत विवरण दुरुपयोग हुन सक्ने वा किर्ते गर्न सक्ने जोखिम पनि त्यस्तै हुन्छ । अब भने नागरिक एपले यस किसिमका समस्याको समाधान दिने भएको छ ।

नागरिक एपमा हरेक नागरिकको नागरिकता, राहदानी, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र, प्यान नम्बर जोडिएका हुन्छन् । तिनै विवरणको आधारमा नागरिकको पहिचान स्थापित तथा प्रमाणीत गर्नेछ ।

यसका लागि एपको दायाँ साइडमा माथि क्युआर कोड राखिएको छ । क्युआर कोड सेवा विश्वमा नौलो प्रयोग भएको सरकारको दाबी छ ।

अब कुनै पनि सरकारी सेवा लिन जाँदा व्यक्तिगत विवरण तथा कागजात बोक्नु नपर्ने भएको छ । त्यसको अन्त्य अब नागरिक एपमा भएको क्युआरले गर्नेछ ।

उदाहरणका लागि नागरिक एपबाट क्युआर स्क्यान गरेर बैंक खाता खोल्न सकिने छ । लोकेसवाको फाराम सजिलै भर्न सकिने छ । सिम कार्ड लिन छुट्टै फाराम समेत भर्नुपर्दैन् । इकमर्स, हवाइजहाजको टिकट, होटेलको बुकिङ लगायत नागरिकको पहिचान खुलाउनुपर्ने स्थानमा समेत यो सुविधा प्रयोग गर्न सकिने छ ।

यसबाट नागरिकको समय बचत हुनेछ, खर्च जोगिने छ, सम्बन्धित निकायलाई ढड्डा खडा पनि गर्नुपर्ने छैन् र किर्ते हुन सक्ने जोखिम पनि हुने छैन् ।

नागरिकको पहिचान प्रमाणीकरण गर्न एपमा व्यक्तिका आधारभूत विवरण ५ भागमा वर्गीकरण गरिएका छन् ।

जसमा प्रोफाइलअन्तर्गत व्यक्तिको नाम, ठेगाना, जन्म मिति, लिङ्ग, मोबाइल नम्बर, ईमेल ठेगाना र तस्वीर राखिएको छ । यस्तै नागरिकता, राहदानी, स्थायी लेखा नम्बर-प्यान, शैक्षिक प्रमाणपत्र जस्ता जानकारीलाई पनि छुट्याएर राखिएको छ ।

नागरिकलाई सेवा दिने कार्यालयहरु नागरिक एपमा क्लाइन्टको रूपमा सूचीकृत हुन्छन् । जसलाई नागरिक एपले नागरिकको आवश्यक जानकारीमा मात्र पहुँ दिन्छ । नागरिक एपबाट नागरिक पहिचान प्रमाणीकरण गर्दा सेवा प्रदायक निकायले व्यक्तिगत विवरणको प्रतिलिपि लैजान नपाउने जनाइएको छ ।

पहिचान प्रमाणीत गर्न क्युआर स्क्यान गर्दा नागरिक एपमा सम्बन्धित निकायले कुन कुन व्यक्तिगत सूचनामा पहुँच बनाउन खोजेको छ भन्ने जानकारी देखिन्छ । त्यस किसिमको पहुँच दिने वा नदिने सम्बन्धित नागरिक आपैले निर्धारण गर्न सक्छन् ।

प्रतिक्रिया