मध्यबिन्दु नगरपालिकामा किशोरी सशक्तीकरण कार्यक्रमको जानकारी सहित सल्लाहकार समिति गठन


मध्यबिन्दु नवलपुरको मध्यबिन्दु नगरपालिकामा किशोरी सशक्तीकरण कार्यक्रमको जानकारी सहित सल्लाहकार समिति गठन गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलानको सहयोगमा सञ्चालन गर्न लागेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा जानकारी सहित सल्लाहकार समिति गठन गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोतम पौडेल लैङ्गिक समानता र किशोरीहरूलाई सशक्त गराउनका लागि संस्थाले ३ वर्षसम्म नगरपालिकासँग समन्वय गर्दै कार्यक्रम गर्ने बताउनुभयो । नवलपुरका देवचुली र कावासोती नगरपालिकामा ३/३ वर्षसम्म सञ्चालन भएको कार्यक्रमले किशोरीहरूलाई सशक्तीकरण बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै मध्यबिन्दु नगरपालिकामा सरोकारवालाको समन्वयमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

पालिकाका १५ वडाबाट छनोट भएका ३५ जना किशोरीहरूलाई विभिन्न चरणमा विविध विषयमा तालिम प्रदान गर्दै समुदायमा रहेका किशोरीहरूलाई सचेतना प्रवाह गर्ने गरी कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनुभएको थियो । संस्थाका अध्यक्ष तिलोतम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसै गरी नगर उप प्रमुख पूर्णकला चौधरी, नगर प्रवक्ता, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, सञ्चारकर्मी लगायतको उपस्थितिमा कार्यक्रमको बारेमा जानकारी गराइएको हो । तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि नगर उप पूर्णकला चौधरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा वडा अध्यक्षबाट मानबहादुर चौधरी, कार्यपालिका सदस्यबाट प्रकाश परियार, शिक्षा शाखाबाट गीता चापागाईँ, स्वास्थ्य शाखाबाट जायश्वर भुसाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट पुष्पा रिजाल, युवा सञ्जालबाट प्रकाश रेग्मी, सञ्चारकर्मीबाट निशा भण्डारी, खेलकुद विकास समितिबाट हिमाल सिंह ठकुरी, मध्यबिन्दु उद्योग वाणिज्य सङ्घबाट किरणकुमार श्रेष्ठ, प्रधानाध्यापकहरूबाट हरि देवकोटा, व्यवस्थापन समितिका अध्यक्षबाट बाबुराम पाण्डे, शिक्षक अभिभावक सङ्घका तर्फबाट पदमबहादुर थापालाई चयन गरिएको संस्थाका महासचिव दीपक शर्माले जानकारी गराउनुभयो ।

त्यसै गरी १/१ जना बाल क्लबको प्रतिनिधि र बालिकाको प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो । मध्यबिन्दु नगरपालिकाले बालबालिकाका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिरहेको र संस्थालाई पालिकामा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेकोमा आगामी तीन वर्ष संस्थासँग समन्वय गर्दै कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । कार्यक्रममा सहभागी भएका ३५ जना किशोरीहरूसँग विभिन्न वडामा सञ्चालन हुने सचेतनाबाट बालबालिकालाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख पूर्णकला चौधरी, नगर प्रवक्ता रणबहादुर थापा, विद्यालय व्यवस्थापन समितिबाट दानबहादुर रायमाझी, प्रधानाध्यापकबाट हरि देवकोटा, स्वास्थ्य शाखा प्रमुख जायश्वर भुसाललगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया