नवलपुर एफएमको आयोजनामा शंखध्वनी, भजन र तिज गीत प्रतियोगिता सम्पन्न


नवलपुर । नवलपुरको कावासोतीमा रहेको नवलपुर एफ.एम. १०४.७ मेगाहर्जको आयोजनामा राष्ट्रिय शंखध्वनी, भजन र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता भएको छ । राष्ट्रिय शंखध्वनी प्रतियोगितामा देवचुलीका प्रकाश ढकाल प्रथम भएका छन् ।

शंखध्वनी प्रतियोगिताका निर्णायक मण्डलका संयोजक प्रकाश पराजुलीका अनुसार कावासोती ८ का ऋतिक पाण्डे द्वितीय, सुमति घिमिरे तृतीय र देवचुलीका लक्ष्मण पाठक सान्त्वना भएका छन् । शंखध्वनी प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार, तृतीय हुनेले २ हजार र सान्त्वना स्थान हासिल गर्नेले १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसै गरी भजन प्रतियोगितामा राधेराधे भजन समूह प्रथम, लोक संस्कृति भजन समूह द्वितीय, लालीगुराँस भजन समूह तृतीय र दुर्गाहरि भजन समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

भजन प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार, तृतीय हुनेले ४ हजार र सान्त्वना हुनेले १ हजार प्राप्त गरेका थिए । त्यसै गरी विद्यालय स्तरीय तिज गीत प्रतियोगितामा लर्डबुद्ध एकेडेमीका विद्यार्थी समूह प्रथम, शिव मावि कावासोतीका विद्यार्थीहरूको समूह द्वितीय, आरम्भ एकेडेमी कावासोतीका विद्यार्थी समूह तृतीय र जनता मावि विष्णुनगरका विद्यार्थी समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगिताका विजयीहरूलाई गण्डकी प्रदेशका पूर्व सांसद ओमकला गौतमले पुरस्कारहरू वितरण गर्नुभएको थियो । नवलपुर एफ.एमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको प्रतियोगितामा राष्ट्रिय शंखध्वनि तर्फ १५ जना, भजन प्रतियोगिता तर्फ १२ वटा समूह र विद्यालय स्तरीय तिज गीत तर्फ २१ वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया