दुम्कीवासमा खानेपानी को समस्या 


विष्णु गौडेल,दुम्कीवास, १ साउन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीवास बजार क्षेत्रमा खानेपानीको समस्या भएको छ । भरपर्दो खानेपानी आयोजना नहुनु, विद्युत भोल्टेज कम हुँदा ओभर हेड टङ्कीमा मोटरले पानी नतान्नु र चाप कलको पानी सुक्नाले अहिले दुम्कीवास क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीले बताएका छन् ।
बजार क्षेत्रका अधिकांश घरहरूमा ओभर हेड टङ्की मार्फत खानेपानी वितरण गरिँदै आएकोमा अहिले विद्युत्  अनियमित हुने र कम भोल्टेजको विद्युत् आउने कारणले पानी वितरणमा समस्या भएको छ । कतिपय घरमा चाप कलको भरमा खानेपानी व्यवस्थापन गर्दै आएका स्थानीय  सुख्खा याममा पानी नआउने र बर्सातमा धमिलो पानी आउँदा पानीको समस्या हुने गरेको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ को राजमार्ग देखी दक्षिण तर्फ ओभर हेड टङ्की मार्फत खानेपानीको सहज व्यवस्था भए पनि राजमार्ग देखि उत्तर तर्फको क्षेत्र र वडा नम्बर २ को ज्यामिरे क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् ।
दुम्कीवास बजार क्षेत्रमा अहिले देखिएको खानेपानीको समस्या विद्युत् कै कारणले भएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । डिप बोरिङ मार्फत ओभर हेड टङ्की मार्फत खानेपानी वितरण गर्ने गरिएकोमा विद्युत् भोल्टेज कम आउँदा उचाइमा पानी तान्न नसकेको कारणले अहिले अभाव देखिएको अध्यक्ष गिरीले जानकारी दिनु भयो ।
“विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा विद्युतको कम भोल्टेजका कारणले उत्पन्न भएको समस्या समाधानका लागि सब स्टेसन निर्माण कार्य भई रहेको छ, विद्युतको कारणले भएको समस्यहरु यो वर्ष भित्र अन्त्य हुने गरी काम अगाडि बढेको छ”,अध्यक्ष गिरीले भन्नु भयो ।
दुम्कीवास बजार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि तीन वटा खानेपानी आयोजना सञ्चालन गरिए पनि प्रभावकारी रूपमा कुनै पनि आयोजना सञ्चालन हुन नसक्दा खानेपानीको अभाव हुने गरेको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दीपक पौडेलले बताउनु भयो ।
दुम्कीवास खानेपानी उपभोक्ता समिति १ जोगी कुटी, दुन्चे खोला खानेपानी उपभोक्ता समिति र दुम्कीवास खानेपानी उपभोक्ता समिति १ र २ ज्यामिरे गरी तीन वटा खानेपानी आयोजना यस क्षेत्रमा सञ्चालित रहेका छन् । तीन वटै खानेपानी आयोजनालाई एकीकृत गरी प्रभावकारी रूपबाट खानेपानी आयोजना सञ्चालन गर्ने उद्देश्यले एकीकृत भेला राख्ने प्रयास गरे पनि सफल हुन नसकेको वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
अगामी साउन/भदौ सम्मा तीन वटै खानेपानी  समितिलाई एकीकृत गर्ने गरी भेला र छलफल गरिने उहाँले जानकारी दिनु भयो ।
दुन्चे खानेपानी आयोजना अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा वितरण गरिएको दुन्चे खोलाको पानीमा चुनको मात्रा धेरै भएकाले पाइप जाम भइरहने समस्याले गर्दा खानेपानी वितरणमा समस्या हुने गरेको छ । त्यसै गरी यो आयोजना वाट गुणस्तरीय खानेपानी वितरणको लागि समस्या हुने तथा धमिलो पानी आउने हुँदा उपभोगमा समस्या आइरहने गरेको छ ।

प्रतिक्रिया