सहकारीको रकम हिनामिना गरेको आरोपमा एक जना सांसद सहित ३५ जना विरुद्ध मुद्धा दर्ता


मध्यविन्दु (नवलपरासी), २० जेठ
छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसद सहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिलको कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपैँया हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाबिरुद्ध मुद्धा चलाउन राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले बताउनु भयो ।
“प्रहरीले दिएको रायअनुसार सरकारी वकिलको कार्यालयले एकहप्ता अनुसन्धान गरेपछि आज सबै ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो”, न्यायाधिवक्ता घिमिरेले भन्नु भयो,“रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेका छौ ।”
प्रतिवादी बनाइएकामध्ये रिमाल, पाण्डे, शर्मा लगायत १० जना हाल प्रहरी हिरासतमा छन् भने सांसद बस्नेतसहति २५ जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो ।
गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउदै सांसद बस्नेत सहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको थियो । सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्न सरकारी वकिलको कार्यालयलाई जिल्ला प्रहरी कार्यालयले राय दिएको थियो ।
रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ । सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई विनाधितो ऋण प्रवाह गरेको अनुसन्धामा देखाएको प्रहरी उरीक्षक रेग्मीले बताउनु भयो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको देखिएको छ ।
राप्रपाबाट प्रतिनिधि सभा सदस्य गीता बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि संसद बस्नेत अझै फरार हुनुहुन्छ ।
२०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।

 

प्रतिक्रिया