वर्षाले डढेलो नियन्त्रणमा सहज


काठमाडौँ, चैत ७ गते। देशका विभिन्न स्थानमा लागेको डढेलो बुधबार परेको पानीले नियन्त्रणमा लिन केही सहयोग गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङ्ग बागमती, मधेश र कोशी प्रदेशमा लागेको डढेलो नियन्त्रणमा लिन आज परेको हल्का वर्षाले सहयोग गरेको बताउनुहुन्छ।

उहाँले भन्नुभयो,“पछिल्लो दिनमा कोशी, मधेश र बागमती प्रदेशमा धेरै आगलागी भइरहेका छन्। आज परेको हल्का वर्षाले आगलागी नियन्त्रणमा लिन सहयोग गरेको छ।” चैत ६ गतेमात्र देशमा ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो।

कति स्थानमा लागेको डढेलो नियन्त्रणमा आयो भन्ने तथ्याङ्क भने बिहीबारमात्र आउने उहाँ बताउनुहुन्छ।

प्राधिकरणको तथ्याङ्क अनुसार मोरङ जिल्लामा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। त्यसपछि ताप्लेजुङ र तेह्रथुम जिल्लमा आगलागीका घटना भएका छन्।

पछिल्लो एक हप्तामा २६४ वटा डढेलोसँगै आगलागीका घटना भएका छन् । जसमा पाँच जनाको मृत्यु भएको छ । आगलागीमा परेर १८ जना घाइते भएका छन् । आगोले जलेर ७७ पशुचौपाया मरेका छन् ।

आगलागीबाट १४ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । १०८ वटा पूर्वाधारमा क्षति भएको छ ।

प्रतिक्रिया