गैँडाकोटमा अन्तर पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न


गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका पालिकाहरुले कावासोती नगरपालिकाको दमकल प्रयोग गरेवापत कावासोतीलाई सोध भर्नाका आधारमा भुक्तानी गर्न राजी भएका छन् । कावासोती नगर प्रमुख विष्णुप्रसाद भुषालले जिल्लाभर दमकल प्रयोग गर्दा खर्चिलो बनेको बताउँदै खर्च व्यवस्थापनको प्रस्ताव पेश गरेपछि अन्य पालिकाहरुले त्यो खर्च उपलब्ध गराउन सहमत भएका हुन् ।

मंगलबार गैँडाकोटमा भएको अन्तर पालिका स्तरीय समन्वयात्मक बैठकमा उपस्थित जिल्लाका पालिका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतले आगो निभाउने शिलशिलामा आफ्नो पालिकामा दमकल आउँदा लाग्ने खर्च वापतको रकम भुक्तानी गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै व्यवसाय दर्ता लगायतका दोहोरो करका विषयमा गाउँपालिका र नगरपालिका महासंघमाफर्त प्रदेश तथा संघमा पत्राचार गरी स्थानीय तहलाई पूर्ण अधिकार दिनेगरी काम अघि बढाउन आह्वान गर्ने भएका छन् । कालिगण्डकी करिडोर र पूर्वपश्चिम राजमार्ग निर्माणका लागि दवाव दिने, मध्यवर्ती र चुरे हटाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि गरेका छन् ।

बैठकमा कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय, फोहर व्यवस्थापन, शिक्षा, पालिकाहरुको विवादित सिमाङ्कन, दुइपालिका जोड्ने सडक मार्ग संयुक्त निर्माण, पदमार्ग, नदीजन्य पदार्थ, सुकुमबासी समस्या लगायतका विषयवस्तु उठाइएको थियो ।

गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले पालिकाहरुमा देखिएका साझा समस्याहरुलाई समन्वय गरी समाधान गर्ने र आज गरिएका निर्णय कार्यान्वनमा ल्याउन आग्रह गर्नुभएको थियो ।

बैठकमा गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, कावासोती नगर प्रमुख विष्णुप्रसाद भुषाल, हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी, बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा, गैँडाकोट नगर उप प्रमुख शान्ति कोइराला, कावासोती नगर उप प्रमुख फुलकुमारी थनेत, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना मगर, बौदीकाली गाउँपालिका उपाध्यक्ष डिलकुमारी केसी शारु मगर, प्रमुख प्रशासकीय अधिकृतहरु एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अन्तर पालिका स्तरीय यो तेस्रो बैठक हो । अन्तर पालिकामा क्रमशः बैठक बस्ने छन् । यसपछि कावासोतीमा वैशाख २८ गते अर्को बैठक बस्ने गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया