मौरीपालक किसानलाई कावासोती नगरपालिकाको सहयोग


नवलपुरको कावासोती नगरपालिकाले पालिका भित्र रहेका मौरी पालक किसानलाई आवश्यक सामाग्री वितरण गरेको छ । नगरपालिकाले मौरी पालक किसानका लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामाग्री अनुदानमा उपलब्ध गराएको हो ।
आज एक कार्यक्रमको आयोजना गरि किसानलाई सामाग्री हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, वडा नम्बर ८ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक गोकर्ण रिमाल, वडा नम्बर १ का वडा अध्यक्ष एवं पूर्वाधार विकास समिति संयोजक तबारकअहमद मिया , कृषि शाखा प्रमुख शिवनारायण कुमाल लगायतले सामाग्रीहरू मौरी पालक किसानलाई हस्तान्तरण गरेका थिए ।
मौरीको घार २ सय ७० थान, महदानी २ थान, चाका १०० थान, टोपी २० थान, मैन बक्स ३ थान लगायतका सामाग्रीहरू मौरी पालक किसानलाई हस्तान्तरण गरिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो ।  कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत लागत सहभागिता गरि कुल रु. १४ लाख बराबरका सामाग्री प्रदान गरिएको हो ।
नमूना मौरी पालक समूह मार्फत सामाग्री किसानलाई प्रदान गरिएको हो । १८ जना मौरी पालिका किसान प्रत्यक्ष रुपमा लाभान्वित भएको समूहका अध्यक्ष कबिराम भण्डारीले बताउनुभयो ।किसानलाई सामाग्री हस्तान्तर गर्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले व्यवसायीक रुपमा मौरी पालनलाई प्रोत्साहन गरि आर्थिक विकासमा सहयोग पुगोस् भनेर अनुदानमा सामाग्री वितरण गरिएको बताउनुभयो ।  नगरपालिकामा सीमित स्रोतको बावजुत समेत केही मात्रमा भएपनि प्रोत्साहनका लागि अनुदानमा सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्दै मौरी पालन पेशा सहजै जस्तो भएपनि किसानले चरनको समस्या झेल्ने गरेको बताउनुभयो । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि तोरी लगायतका बालीमा कडा खालका विषादी प्रयोग घटाउनुपर्ने बताउनुभयो ।वडा नम्बर ८ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक गोकर्ण रिमालले अनुदानमा सामाग्री वितरण गर्नुको प्रमुख उद्देश्य मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिन सक्ने र आर्थिक अभिवृद्ध गर्नु रहेको बताउनुभयो ।नगरपालिकाले अनुदानमा सामाग्री वितरण गरेपछि मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रर्वद्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाई छ ।

प्रतिक्रिया