घडियाल संरक्षणका लागि काव्य उत्सव


मध्यविन्दु,१९ वैशाख,
विश्वबाटै लोप हुने अवस्थामा पुगेको अति संकटापन्न घडियाल गोहीको संरक्षणका लागि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा काव्य उत्सव हुने भएको छ ।
पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्बद्र्धनका विविध आयामहरुलाई समेट्दै जिल्लाको पिप्रहरमा दुई दिनसम्म काव्य उत्सवको आयोजना गर्न लागिएको हो ।
देवचुली नगरपालिकामा रहेको संचार संस्था ह्याप्पी एफ.एमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताउनुभयो ।
“पाँच बर्ष अघि वि.सं २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफ.एमले विषय वस्तु र मुद्धालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको हो” उहाँले भन्नु भयो ।
जिल्लाको देवचुलीमा रहेको पिप्रहर सामुदायिक होम–स्टेमा आगामी वैशाख २२ र २३ गते कार्यक्रम आयोजना गरिएको छ । घडियाल काव्य उत्सवको विभिन्न ९ वटा सेसनमा घडियाल गोही, नारायणी नदि, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको समिश्रण, देवचुली डाँडाको गौरवका साथै काव्य वाचन गरिने छ ।
“सेसनमा डब्लु डब्लु एफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ, पूर्व मन्त्री एवम् पानी विज्ञ गणेश शाह, वर्ड लाइफ ईन्टरनेशनल एसिया पार्टनरसिप म्यानेजर डा. हुम गुरुङ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी, कलाकार राजेश हमाल लगायत विभिन्न स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बहस हुनेछ” कडरियाले भन्नु भयो ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, समाजसेवी खिमानन्द भुसाल र संरक्षकर्मी डि.बी चौधरीले लोपोन्मुख घडियाल संरक्षणका निम्ति एफ.एमले आयोजना गरेको काव्य उत्सवले संरक्षणमा सकारात्मक सन्देश दिने बताएका थिए । कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनको सहजीकरण ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो

प्रतिक्रिया