आज झन्डै ५२ अंकले बढ्याे नेप्से, फाइनान्स र विकास बैंक समूहमा हरियाली


काठमाडाैं – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार झन्डै ५२ अङ्कले बढेको छ । नेप्से आज ५१ दशमलव ८६ अङ्कले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर ३९ अङ्कले, विकास बैंकको चार सय ६ अङ्कले, फाइनान्सको एक सय ९० अङ्कले र माइक्रोफाइनान्सको ७३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ४२ अङ्कले, उत्पादनको ४४ अङ्कले र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ ।

पछिल्ला केही दिन निरन्तर बढिरहेको जलविद्युत् समूहको शेयर आज भने घटेको छ । आज बेस्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंकलगायत १३ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्र बजार बढे पनि आज साञ्जेन जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज धेरैजसो जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया