तापमान वृद्धिले मानव जाति ठूलो संकटमा रहेको वैज्ञानिकहरुको निष्कर्ष


काठमाडौं – संयुक्त राष्ट्र संघले विश्वव्यापी तापमान वृद्धिले मानव जातिले भयङ्कर ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।जलबायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले विश्वव्यापी तापमान वृद्धिमा मानवजाति नै जिम्मेबार रहेको ठहर गरेको छ ।

झण्डै १४ हजार वैज्ञानिक अध्ययनलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने चेतावनी दिइइको छ । बढ्दो तापमानका कारण विश्वभरमा मौसमसँग जोडिएका विपद्ले गम्भीर आपतका घटनाहरु सामने आउने प्रतिवेदनमा उल्लेख छ ।

वायुमण्डललाई तताउने ग्यासको उत्सर्जन जुन रुपले भइरहेको छ त्यसले गर्दा अबको दुई दशकमै तापमानले सीमा नाघ्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।यो शताब्दीको अन्त्यसम्ममा समुन्द्रको जलस्तर लगभग दुई मिटर बढ्ने प्रतिवेदनमा औंल्याइएको छ ।

मावनजातिले भोग्नु पर्ने संकटसँगै वैज्ञानिकहरुले कार्बन उत्सर्जनमा ब्यापक कटौती गर्नसके तापमानलाई स्थिर गर्न सक्ने आशा पनि औंल्याएका छन् । ४२ पानाको प्रतिवेदन नीति–निर्माताहरुका लागि मार्गदर्शक सारांशको रुपमा पनि लिइएको छ । यसलाई आगामी महिनामा आउने सिलसिलेवार कयौं प्रतिवेदनको एक कडीमा रुपमा लिँदै ग्लासगोमा हुन गइरहेको जलवायु सम्मेलनको लागि पनि अर्थपूर्ण हुने बताइएको छ।

अनुसन्धानमूलक केही दस्तबेजहरुले मानव जातिको असावधानीपूर्ण क्रियाकलापले पर्यावरणमा पुर्‍याएको क्षतिलाई हजारौं वर्षमा पनि भरपाइ गर्न नसकिने उल्लेख गरिएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले प्रतिवेदन मानवताका लागि खतराको संकेत भन्दै विभिन्न देशका नेता र सरोकारवालालाई आगामी जलवायु सम्मेलन सफल बनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया