आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या
मीना कँडेल,कावासोती, कात्तिक १३ गते । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका ५ धौवादीमा रहेको इलाका प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा कठिन भएको छ ।
धौवादीको रुद्रपुरमा वि.सं.२०३२ मा इलाका प्रहरी कार्यालय स्थापना भएको जिल्लाकै पुरानो प्रहरी कार्यालय भए पनि भाडाको टहराबाट सेवा दिँदै आएको छ ।
भाडामा लिइएको घरमा दरबन्दी भन्दा कम सङ्ख्यामा प्रहरी राखेर धौवादी क्षेत्रमा सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख यादव ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी आफैंलाई असुविधा छ तर पनि सेवामा तत्पर भई कार्य गरेको छ । कार्यालयमा एक दिन राख्नुपर्ने थुनुवालाई राख्ने ठाउँको अभाव छ । कार्यालयमा बिजुली, पानी, शौचालय जस्ता अत्यावश्यक सुविधासमेत छैन ।”
ऐतिहासिक महत्व बोकेको रुद्रपुर प्रहरी कार्यालय पहाडी क्षेत्रको शान्ति सुरक्षाका लागि पहिलो आधार भएकाले पनि आवश्यक दरबन्दी विना नै सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।
भर्खर मात्र सरुवा भएर आउनुभएका प्रहरी जवान केशव भुसालले शान्तिसुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेको बताउनुभयो । १७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा पाँच जनाले मात्र सेवा प्रवाह गरिरहेको बताउँदै प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा प्रभाव परेको बताउनुभयो ।
हुप्सेकोट गाउँपालिका-५ धौवादीमा प्रहरी कार्यालयको नाममा जग्गा भए पनि भवन निर्माणका लागि बजेट नपर्दा वर्षदेखि भाडाको टहरामा बस्नुपरेको वडा अध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।
भवन निर्माणका लागि वडादेखि गाउँपालिका र जिल्ला सम्म आफूहरुले पटकपटक आग्रह गर्दा समेत ठोस पहल नदेखिएको उहाँको भनाइ छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले इलाका प्रहरी कार्यालय रुद्रपुरको कार्यालय व्यवस्थापनका विषयमा पहल गरिरहेको बताउनुभयो ।