बुटवल–नारायणगढ सडकः “ठेकेदार पक्षले सहमति कार्यान्वयन नगरे सरकारले विकल्प खोज्ने”


मध्यविन्दु (नवलपरासी), १६ भदौ,
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक बिस्तारका लागि ठेकेदार पक्षसँग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ ।
बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका आई पुग्नु भएका मन्त्री दाहालले ठेकेदारले कुनै पनि बाहानमा पछिल्लो सहमति कार्यान्वयनमा आनाकानी गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताउनु भएको हो ।
“देशको मुख्य राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यहीँ सडक कहिल्यै सकिन्छ भन्ने तर्फ छ ”,उहाँले भन्नु भयो,“अब पनि ठेकेदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ, एउटा ठेकेदारको कारण देशको महत्त्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनै पनि अर्थमा स्वीकार्य हुँदैन ।”
विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सडक बिस्तारको योजना, शिलान्यासको काम भएको स्मरण गर्दै उहाँले अब ओली नेतृत्वको सरकारले नै सडक बिस्तारको काम सम्पन्न गर्ने बताउनुभयो ।
मन्त्री दाहालसङै सडक अनुगमनमा आउनु भएका मन्त्रालयका सचिव केशव कुमार शर्माले ठेकेदार पक्षले कामको समय मिलाउन नसक्दा पनि अहिलेको अवस्था आएको बताउनुभयो । स्थलगत अनुगमनको क्रममा पिच गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटर भन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्दै उहाँले ठेकेदार पक्षले कार्य समय मिलाउन नसक्दा पनि कतिपय समस्याहरू रहेको अनुभूति रहेको बताउनुभयो ।
सडक बिस्तारको क्रममा मध्यविन्दु नगरपालिका आई पुग्नु भएका मन्त्री दाहाललाई मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याको बारेमा आवगत गराउनु भएको थियो । सडक बिस्तारमा स्थानीय सरकार हरेक हिसाबले सहयोग गर्न तयार रहेको भन्दै उहाँले स्थानीय सरकारहरू निःशुल्क उपलब्ध गराएको कारणले नै अहिले सडक सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो ।

प्रतिक्रिया