नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालन


मध्यविन्दु(नवलपरासी), २९ साउन
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा भासिएको सडक एक तर्फी सञ्चालनमा आएको छ । सडक भासिए पछि पहाडी भू भाग कटान गरेर सडक सुचारु गर्ने काम आज पुरा नभए पछि भोलि फेरि काम गर्ने गरी अहिले एक तर्फी सडक सञ्चालन गरिएका जिल्ला प्रहरी कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।

विनयी त्रिवेणी गाउँपालिका– २ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिए पछि आज बिहान देखि सडक फराकिलो बनाउने काम सुरु गरिएको थियो । आज बिहान देखि दिउसो २ बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीलाई रोक लगाएर मर्मतको काम गरिएको थियो । सवारीको जामलाई मध्यनजर गरी २ बजेपछि रोकिएका सवारी साधनलाई एक/एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

सुरक्षाको दृष्टिकोणले जोखिम हुने भएकाले रातको समयमा मर्मत कार्य रोकी भोलि बिहान ८ बजे देखि पुन मर्मत कार्य सुरु गर्ने पौडेलले जानकारी दिनु भयो । भोली दिनभरमा दाउन्ने सडक खण्डमा दुई तर्फी यातायात सञ्चालनमा आउने बताइएको छ ।

प्रतिक्रिया