हवाई यात्रा: प्रतिबन्धमा नेपालबाट चार्टर्ड विमानमा यात्रा गर्ने आधा भारतीय


काठमाडाैं – नेपालमा कोरोनाभाइरस महामारीको लकडाउनका कारण चार्टर बाहेक अन्य अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी यात्रा गर्ने सबैभन्दा बढी यात्रु भारतका रहेको पाइएको छ।

यो अवधिमा बिहीवार सम्म ५६ वटा अन्तर्राष्ट्रिय उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्यसमध्ये अधिकांश उडान स्वास्थ्य सहायता सामग्री भित्र्याउन केन्द्रित भएको बताइएको छ।

कतिपय उडानले विभिन्न देशका अनुरोधमा नेपालमा रोकिएका विदेशीहरूलाई उनीहरूको गन्तव्यमा पुग्न सहजीकरण गर्ने उद्देश्य राखेको थियो। सरकारले गएको वैशाख २३ गतेबाट चार्टर बाहेक सबै आन्तरिक र बाह्य उडान रद्द गरेको छ।

अन्तर्राष्ट्रिय उडानको अवस्था के छ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीवार सम्म ५६ वटा उडान भएका छन् जसबाट ४ लाख १४ हजार केजी भन्दा बढी विभिन्न किसिमका सामग्रीहरू नेपाल भित्र्याएको छ।

उडान प्रतिबन्ध कार्यान्वयनमा आएको दुई दिनपछिबाट अन्तर्राष्ट्रिय चार्टर उडानहरू हुन थालेका विमानस्थलको आँकडाले देखाउँछ।

अध्यागमन विभागका प्रवक्ता झकनाथ ढकालका अनुसार मे ८ यता बिहीवार अपराह्नसम्म २५ सय ६ जना नेपालबाट बाहिरिएका छन् भने ६ सय २९ जनाले नेपाल प्रवेश गरेका छन्।

उनले दिएको आँकडा अनुसार अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३ सय १६ जना भारतीयहरू अन्यत्र प्रस्थान गरेका थिए भने नेपाल प्रवेश गर्ने भारतीयहरूको सङ्ख्या १ सय ८५ रहेको छ।

यो अवधिमा नेपालले भारतसँग ‘एअर बबल’ सम्झौता अनुसार साताको दुई वटा उडानलाई अनुमति दिँदै आएको छ।

आन्तरिक टर्मिनल

नेपालबाट बाहिरिने भारतीयहरू मध्ये अधिकांश बन्दाबन्दीको कारण काठमाण्डूमा रोकिएका श्रमिकहरू रहेका विवरण आएका छन्।

काठमाण्डूस्थित भारतीय दूतावासको अनुरोधमा सरकारले चार्टर विमानमार्फत उनीहरू साउदी अरेबियाका विभिन्न सहर पुग्ने व्यवस्था मिलाएको थियो।

उनीहरूलाई लैजान नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडान गरिरहेका थिए।

नेपालमा रहेका भनिएका लगभग धेरै भारतीयहरू गइसकेको र अब थोरै बाँकी हुनसक्ने आफूले बुझेको पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

स्वास्थ्य सामग्री कति भित्रियो र के के?

चार्टर्ड उडानमार्फत यो हप्ताको मध्यसम्म ४२ करोड रुपियाँ भन्दा बढीको स्वास्थ्य सामाग्री नेपाल भित्रिएको त्यहाँस्थित भन्सार कार्यालयको आँकडाले देखाउँछ।

हवाई कार्गोमा विभिन्न देशबाट भित्रिएका अक्सिजन, फेस मास्क, औषधि, भेन्टिलेटर जस्ता सहयता सामग्री समेटिएको छ। बीबीसीले प्राप्त गरेको एउटा तथ्याङ्कमा झन्डै ७२ लाख वटा मास्क र १० हजार भाइल रेम्डेसिभिर सहितका सामग्री भित्रिएको देखिन्छ।

सरकारले शुक्रवारका लागि दशवटा विमानलाई अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको छ।

अध्यागमन सहज पार्ने सोचाइमा सरकार

विमान खरिद

नेपाल पर्यटन बोर्डले पर्वतारोहण र पदयात्रा सहितका लागि नेपाल आएका लगभग २ हजार विदेशीमध्ये १२ सय पछिल्लो लकडाउनका कारण प्रभावित भएको सूची आफूले तयार पारेको बताएको छ।

पछिल्लो अवधिमा मलेसिया, कतार र चीनमा सीमित सङ्ख्यामा नियमित उडान सञ्चालनमा ल्याउने विषयमा छलफल अघि बढाइएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए।

उनका अनुसार हप्तामा एउटा वा दुइटा नियमित किसिमको उडान सञ्चालन गर्दा त्यसले विदेशमा अलपत्र परेका श्रमिकलाई स्वदेश फर्कन, सहयता सामग्री ल्याउन र नेपालमा रहेका पर्यटकलाई स्वदेश फर्कन मद्दत गर्नेछ।

यसबारे मन्त्रिषरिषद्ले निर्णय गर्ने अधिकारीहरू बताउँछन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जेठ १८ गतेबाट साताको एउटा उडान तीन वटा देशमा सुरु हुनसक्ने आफूले जानकारी पाएको बताए।

त्यस्तो हुँदा नेपालीहरूले पनि नियमित उडानमार्फत अन्तर्राष्ट्रिय यात्रा गर्न पाउने उनको भनाइ छ। बीबीसी

प्रतिक्रिया