कावासोती १२ लाई २०८१ साल भित्र नै नगरको पहिलो बालमैत्री वडा घोषणा गर्ने वडा अध्यक्ष खनालको प्रतिबद्धता


कावासोती,७ असार ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं. १२ लाई यसै वर्ष भित्र नगरकै पहिलो बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष ध्रुव खनाल (दीपेश) ले बताउनुभएको छ ।
कावासोती नगरपालिका वडा नं. १२ को आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा आयोजित वडा स्तरीय बालमैत्री स्थानीय शासनको अभिमुखीकरण र कार्य योजना निर्माण कार्यशाला गोष्ठीमा उपस्थित सरोकारवालाहरूसँगको छलफल पश्चात् वडा अध्यक्ष खनालले सो कुरा बताउनुभएको हो ।
अभिमुखीकरण कार्यक्रममा बाल अधिकार भनेको के हो, बालमैत्री स्थानीय शासन भनेको के हो, यसका सूचकहरू के के हुन, प्रक्रियाहरू के के हो, बालमैत्रीको प्रतिफलहरू के के हुन्छ र बालबालिकामा किन लगानी गर्नुपर्छ भन्ने बारेमा सहज करण गरिएको बाल अधिकारकर्मी खिमानन्द भुसालले बताउनुभयो ।
स्थानीय तहले भौतिक विकास मात्र नभई यस्ता विभिन्न अभियानहरू सुरु गर्नुपर्ने र यसले सबैको मानवीय विकासमा समेत टेवा पुग्ने हुँदा यस्ता अभियानहरू सुरु गरिनु सुखद रहेको सहभागीहरूले बताएका थिए । संघसंस्थाहरुको तर्फबाट साझा प्रतिबद्धता गर्दै सबैले हातेमालो गरी वडाको अभियानलाई सहयोग गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
कार्यक्रममा वडाले बालमैत्रीको लागि गरिनुपर्ने कार्यक्रमहरू र योजनाहरू समेत निर्माण गरी वडाले नगर र अन्य सङ्घसंस्थाबाट समेत सहयोग लिने गरी अगाडी सारिएको छ ।
नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री हुनको लागि सेवा प्रवाह सम्बन्धी ३६ र संस्थागत विकास सम्बन्धी १५ सूचकहरू गरी ५१ सूचकहरू पुरा गरेर बालमैत्री वडा र नगर घोषणा गर्न सकिने बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा व्यवस्था रहेको छ ।
नवलपुर जिल्लामा हालसम्म देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रूपमा २०७५ भदौ २९ गते घोषणा भएको छ भने गैँडाकोट नगरको वडा नं। १ र ११ मात्र बालमैत्री घोषणा गरिएको छ । बाँकी अन्य पालिकाहरूमा अभियानहरू सञ्चालन गरिराखिएको छ ।
कार्यक्रममा अधिकारकर्मीहरू खिमानन्द भुसाल, दीपक शर्माले सहज करण गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष कावासोती १२ का वडा सदस्य वन्दना तिवारी भुजेलले गर्नुभएको थियो ।  कार्यक्रममा वडा भित्रका बालक लवका प्रतिनिधिहरू, वडा भित्रका विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरू, आमा समूह, टोल विकास समितिका, युवाक्लव र अन्य गरी ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया