हावाहुरीले नवलपुरमा १० घर र दुई विद्यालयमा क्षति


नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरु ढली १० वटा घर र दुई वटा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भईरहेको छ । अहिलेसम्म प्राप्त क्षतिको विवरण अनुसार विनयी त्रिवेणी गाउँपालिका-५ मा ४ वटा घरमा क्षति पुगेको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिका-५ मा ४ वटा घरमा रुख ढली क्षति भएको छ भने देवचुली नगरपालिका ४ झाँक्रेमा सालको रुख ढली एउटा घरमा क्षति भएको छ । यस्तै गैँडाकोट-१३ सिख्रौलीमा एउटा घरको छाना उडाएको छ ।

त्यस्तै मध्यविन्दु नगरपालिका-१० नयाँ बेलहानीमा सरस्वती माविमा रुख ढलेर पर्खाल र भर्‍याङ भत्किएको छ भने कावासोती १७ को सरस्वती माविमै रुख ढलेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ठाउँठाउँमा विजुलीको पोलमा रुख ढलेर क्षति पुर्‍याएका कारण विभिन्न स्थानमा हिजो राति देखि नै विद्युत अवरुद्ध भएको छ । आज नवलपुर खण्डमा सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया