नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन


मध्यविन्दु(नवलपरासी), २१ फागुन,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा हिजो साँझ देखि भएको सडक अवरुद्ध अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा गए राति देखि सडक अवरुद्ध भएको छ ।
सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा हिजोको वर्षाले रातो माटो बगाएर सडक चिप्लो हुँदा यातायात सञ्चालनमा अवरोध भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक साजन कुमार शर्माले बताउनु भयो ।
आइतबार साँझ ७ बजे देखि अवरुद्ध भएको दाउन्ने सडक खण्ड अहिले सम्म पनि सञ्चालन हुन नसक्दा सयै यात्रु एवम् सवारी बिच बाटोमै अलपत्र परेका छन् । सडक सञ्चालनका लागि हिलो माटो डोजर लगाएर हटाइए पनि पहाडी क्षेत्र भएकाले सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनु भयो ।
सडक अवरुद्ध हुँदा अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् । लामो समयदेखि निर्माणाधीन नारायणगढ बुटवल सडक खण्ड हिजोको वर्षाका कारण अहिले हिलाम्मे भएको छ । मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया