कांग्रेस गण्डकीको सम्मेलन पुस ३ र ४ गते हुने


लेखनाथ,  नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ । कांग्रेस गण्डकी प्रदेशको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।

सम्मेलन कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । प्रदेश सभापति शुक्रराज शर्मा सम्मेलनमा प्रदेशभरबाट करिब पाँच सय प्रतिनिधि सहभागी हुने बताउनुहुन्छ । सम्मेलनबाट पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने प्रदेश सभापति शर्मा बताउनुहुन्छ ।

“सम्मेलनमार्फत पार्टीलाई विधान बमोजिम चल्न आग्रह गर्छौं । त्यसमा केन्द्रले सहयोग गरेन भने देशैभर जान्छौं”, उहाँले भन्नुभयो, “पार्टी विधान बमोजिम चल्दा विकृति अन्त्य हुन्छ, पार्टी एउटै हुन्छ, विकृति हट्छ, गुटको पनि अन्त्य हुन्छ ।’

पुस ३ गते सम्मेलनको उद्घाटन शत्र हुनेछ भने ४ गते बन्द शत्र हुनेछ । केन्द्रीय समितिलाई समेत रचनात्मक सुझाव दिने गरी प्रदेशले प्रतिवेदनहरु तयार गरेको सभापति शर्माको दाबी छ ।

कांग्रेस गण्डकीको मङ्सिर १३ गते भएको कार्यसम्पादन समितिको बैठकले पहिलो सम्मेलनको मिति तय गरेको थियो । सम्मेलनका लागि विभिन्न उपसमितिसमेत गठन भएका थिए ।

महामन्त्री किरणबाबुु श्रेष्ठको संयोजकत्वमा संगठन प्रतिवेदन तयार समिति, महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति गठन भएका थिए । सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा आवास व्यवस्थापन समिति बनेकाे थियाे ।

प्रतिक्रिया