लक्ष्मी जयन्तीमा मौलाकालिका मन्दिरमा विशेष काव्य सन्ध्या
गैंडाकोट । दीपावलीको रात प्रसिद्ध मौलाकालिका मन्दिरमा काव्यिक जमघट भएको छ । ११५ औं लक्ष्मी जयन्तीको अवसरमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको आयोजनामा विशेष काव्य सन्ध्यामा स्रस्टाहरूको जमघट भएको हो ।
काव्य सन्ध्यामा दुई जना कविका बीसवटा कविता प्रस्तुत भएका छन् । कवि शिव त्रिपाठीले कवि गोविन्दराज विनोदी र कृष्णशरण उपाध्यायका दस/दसवटा छन्द कविताहरू वाचन गर्नुभएको हो ।
कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले कविहरू गोविन्दराज विनोदी, कृष्णशरण उपाध्याय र शिव त्रिपाठीलाई सम्मान गरेको छ । सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै कवित्रयलाई सम्मान गरिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष डाक्टर गंगाधर अधिकारी र विशिष्ट अतिथि कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले टीका, दोसल्ला र सम्मानपत्रले स्रस्टात्रयलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा तितेपाती, केशवराज आमोदी, विश्वराज लम्साल, होमनाथ घिमिरे, हीरालाल कँडेल, विदुर अधिकारी, इन्द्रराज पौडेललगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका– १ का वडाध्यक्ष सुरेन्द्र रेग्मीले मन्दिर परिसरमा हुने यी किसिमका कार्यक्रमले धार्मिक एवम् साहित्यिक पर्यटनको प्रबर्द्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमलाई मौलाकालिका धार्मिक पुस्तकालयका संयोजक भूमिश्वर शर्माले सहजीकरण गर्नुभएको थियो ।