सीन नवलपुरको आयोजनामा शिक्षकहरुलाई प्रशिक्षण


कावासोती ,३० असार,
सीन नवलपुरको आयोजनमा शिक्षकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित आन्तरिक मूल्याङ्कन प्रणाली सम्बन्धी प्रवोधीकरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत विद्यालयहरुको समुह सीन नवलपुरको आयोजनामा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुलाई निरन्तर सिकाई उपलब्धी मूल्याङ्कन अभिलेख पुस्तिका प्रवोधीकरण सम्पन्न गरिएको हो ।


जिल्लाका २७ संस्थागत विद्यालयका २०० शिक्षकहरुलाई प्रशिक्षण दिइएको सीन नवलपुरका सचिव चिरञ्जीवि गौडेलले बताउनु भयो ।
कार्यक्रममा एकीकृत पाठ्यक्रममा आधारित आन्तरिक मूल्याङ्कन प्रणाली लाई प्रभावकारी बनाउने तारिका, व्यवहारिक शिक्षा, शिक्षण सिकाइको सीप विकास लगायतको विषयमा नवराज पाठकले सहजीकरण गर्नु भएको थियो ।


कार्यक्रममा प्यावसनका केन्द्रिय समिति सदस्य जगत प्रसाद भट्टराईले अहिलेका विद्यार्थीलाई भयरहित वातावरण र प्रोत्साहनको आवश्यकता रहेकाले विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक, अभिभावक र विद्यालयले निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएको हुनाले उनीहरुलाई घर परिवार, गाउँ, समाजका हरेक गतिविधिमा संलग्न गराउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले बालबालिकामा संस्कार–सहितको शिक्षा आवश्यक रहेको बताउदै अबको शिक्षालाई संस्कार र व्यावहारिक कुरालाई प्राथमिकतामा राख्न जरूरी रहेको औँल्याउनु भयो ।


कार्यकम्र सीन नवलपुरका अध्यक्ष चन्द्रकान्त बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा सीन नवलपुरका परिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक हरीहर अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया