यमपञ्चक सुरुः कागकाे पूजा गरी मनाइँदै, आजै कुकुर तिहार


काठमाडौं – आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात तिहारको आज पहिलो दिन, काग तिहार । कात्तिक कृष्ण त्रयोदशीका दिन यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर देशभर काग तिहार मनाइँदैछ । कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ ।

काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो । आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का‘का‘का‘भन्दै बोलाएर खान दिइन्छ । धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।

आजै कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ ।  कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनु पर्छ । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया