अबको केही दिन लगातारजसो पानी पर्नेः महाशाखा


काठमाडाैं – यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपालि मनसुन निरन्तर सक्रिय छ ।

साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछिल्लो तथ्याङ्क छ ।

नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग सय दिन दक्षिण एसियाली मनसुन सक्रिय हुने गर्छ । मनसुन अवधिमा देशभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलीमिटर हो भने काठमाडाैंको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलीमिटर हो ।

मनसुन सकिने समय अझै बाँकी छ । यसैबीच अहिले काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएर पानी परिरहेको हो ।

अबको केही दिन लगातारजस्तै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज विशेषगरी प्रदेश नम्बर एक, दुई, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया