धरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं – ‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ ।

तथापि त्यसबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरो गएको छ ।

निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको घर जोखिममा परेको छ । तीन दिनदेखि वर्षा भइरहेकाले दुवै घर जोखिममा रहेको स्थानीय बताए ।

लगातार वर्षा भइरहेकाले खोला तथा खहरेमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपिल गरिएको छ । निरन्तरको वर्षाले पानीको सतह बढ्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो ।

नवलपरासी पूर्व र पश्चिमका क्षेत्रमा निरन्तर बर्षा भइरहेको र यो क्रम शनिबारसम्म रहन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका-१६ डण्डामा रहेको नेपाल बाढी सूचना केन्द्रले नवलपरासी पूर्वको डण्डा कावासोती, देवचुलीलगायतका ठाउँहरु तथा नवलपरासी पश्चिमको बर्दघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्क रहन अनुरोध गरेको छ ।

बर्दघाटमा रहेको बर्षा मापन केन्द्रले शुक्रबार दिउँसो १ सय ९ मिलिमिटर नाघेको जनाएको छ । लगातारको वर्षाले नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा पुगेको पनि जल मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया