नारायणघाट-बुटवल सडक निर्धारित समयमा नसकिने
बोमलाल गिरी,नवलपुर, माघ १६ गते । तेस्रो पटक थपिएको म्याद सकिन पाँच महिना बाँकी रहँदा नारायणघाट–बुटबल सडक विस्तारको कामले तिब्रता पाएको छ । सरकारले सर्तअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि सडक विस्तारले थोरै आशा देखाएको छ । तर सरकारले दिएको सर्तअनुसार काम भने नहुने भएको छ ।
म्याद थप भएको चार महिनासम्म काममै नफर्केको चिनीयाँ ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले अहिले पूर्वी र पश्चिम खण्ड दुबैतिरको कामलाई तिब्रता दिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा अधिकारीले बताउनुभयो । अहिले सडक विस्तार सुरु भएको ६ वर्ष यताकै सबैभन्दा रफ्तारमा काम भइरहेको सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी ई. शिव खनालले बताउनुभयो । अहिले दुबै क्षेत्रमा कालोपत्रे गर्ने, कल्भर्ट बनाउने, माटो भर्ने, पुल बनाउने, दाउन्ने खण्डमा पहाड काट्ने लगायतका काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले नारायणघाटदेखि बुटबलसम्म १४ स्थानमा कालोपत्रेको तयारी भइरहेको जनाएको छ । यहि गतिमा काम भएमा अवको एक महिनामा देखिने गरी भौतिक प्रगती हुने सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी खनालको भनाइ छ ।
सरकारले दिएको पहिलो लक्ष्यअनुसार काम नभए पनि पछिल्लो समय बाटो विस्तारले गति लिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । पश्चिम नवलपरासीमा पनि सन्तोषजनक काम भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको भनाइ छ । अहिले गैँडाकोट, सीजी, डण्डा, चोरमारा, अरुणखोला, सुनवल, भुमही, बर्दघाट र रुपन्देहीका विभिन्न क्षेत्रमा कालोपत्रेको तयारी भइरहेको ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजन राकेश झाले बताउनुभयो ।
‘निर्धारित समयमा काम सकिन्न’
चाइना स्टेटलाई २०८१ को मङ्सिर २५ गतेभित्र एकतर्फी ७० प्रतिशत कालोपत्रे गर्नुपर्ने र सन् २०२५ को मार्च मसान्त अर्थात् वि.सं. २०८१ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र गरिसक्नु पर्ने सर्त दिइएको थियो । यही सर्त मान्न तयार भएपछि एक वर्षका लागि म्याद थपिएको हो । अन्तिम पटक भन्दै थपिएको म्याद आगामी २०८२ को साउन ८ गते सकिँदैछ ।
पहिलो सर्त गुज्रिसकेको छ । वि.सं. २०८१ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र गरिसक्नु पर्ने दोस्रो सर्तअनुसार पनि काम नसकिने ठेकेदार कम्पनीले बताइसकेको छ । ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजन राकेश झाले तेस्रो पटक म्याद थपिए पछिको चार महिना रकम अभावले काम सुरु गर्न नसकेकाले चैत भित्र काम नसकिने स्पष्ट पार्नुभयो ।
“म्याद थपिने बेला हामीलाई रकम अभाव थियो, त्यसैले तत्काल काम सुरु गर्न सकेनौं, अहिले चिनबाट पैसा आइसकेको छ, कामको रफ्तार पनि बढेको छ,” म्यानेजर झाले भन्नुभयो, “मार्च भित्र काम सकिन्न, जुन भित्र अर्थात वर्षा लाग्नु अघि नै दाउन्ने बाहेक क्षेत्रमा एकतर्फी काम सक्छौं ।”
उहाँले अबको जुनसम्ममा हरेक हप्ता एक किलोमिटरका दरले बाटो कालोपत्रे हुने दाबी गर्नुभयो । अनुसार अहिले पूर्वी खण्डमा ६ सय ५० र पश्चिम खण्डमा पाँच सय कामदार खटिएका झाको दाबी छ।
चिनीयाँ ठेकेदार कम्पनीले दाउन्ने क्षेत्रमा पहाड कटान गर्नका लागि कम्तिमा १५ दिन पाँच घण्टाका दरले बाटो बन्द गराउन दुबै जिल्लाका प्रशासनसँग आग्रह गरेको थियो । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले पनि जिल्ला प्रशासन कार्यालय नवलपरासीसँग समन्वय गरेर बढी ट्राफिक जाम नहुने समय पारी बाटो बन्द गरेर विस्तार गर्न लगाइने बताउनु भएको थियो ।
तर दाउन्नेको बैकल्पिक बाटो नभएकाले यात्रुलाई दुःख हुने भन्दै १५ दिन भित्रमा नै काम सक्ने प्रतिबद्धता माग्नु भएको थियो । तर ठेकेदार कम्पनीले प्रतिबद्धता नै जनाएन । प्रतिबद्धता नआएकाले अब दाउन्ने खण्ड बन्द गर्न नपर्ने प्रजिअ पोख्रेलले बताउनुभयो ।
यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमी सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।
२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो । तर ६ वर्ष बित्दा ५४ प्रतिशत मात्र भौतिक प्रगती भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुबै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।