हुप्सेकोट गाउँपालिकामा अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि


विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी) ,१३ साउन,रासस 
नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दूध उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थाले पछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि भएको पाइएको छ ।

सहकारीले सञ्चालन गरेको दुग्ध डेरी मार्फत दूध विक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा ७ रुपैयाँ ५० पैसाका दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो । आर्थिक वर्ष २०८०/८१ मा कुल ७५ हजार दुई सय दुई लिटर दूधमा कुल पाँच लाख ६४ हजार १२ रुपैयाँ अनुदान रकम किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताउनु भयो ।
“आर्थिक वर्ष २०८०/८१ म सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्था ली.ले २२ हजार १६ लिटर दूधको जम्मा दुई लाख ७३ हजार पाँच सय ३१ रुपैयाँ, साना किसान कृषि सहकारी संस्था ली.ले ३५ हजार तीन सय सात लिटर दूधको दुई लाख ६५ हजार एक सय ६२ र शिव मन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीन सय ७६ लिटर दूधमा २५ हजार तीन सय १९ रुपैयाँ अनुदान लगेका छन”,उहाँले भन्नु भयो ।

हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० सम्म प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदै आएकोमा गत आर्थिक वर्ष देखि अनुदान रकम वृद्धि गरिएको हो । गाउँपालिकाले प्रतिलिटर रु.१० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेश वाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर १० रुपैयाँ हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
“गाउँपालिका भित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कको आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”,उहाँले भन्नु भयो,“उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको हो ।”

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उहाँले बताउनु भयो ।
“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष अनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रमहरू अगाडि सारिएका छन“,उहाँले भन्नु भयो, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।”
आर्थिक वर्ष २०७९/८० मा कुल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँच रुपैयाँको दरले दुई लाख ८६ हजार छ सय १९ रुपैयाँ अनुदान रकम प्रदान गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनु भयो ।
“सो वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्था ली.ले २२ हजार १६ लिटर दूधको जम्मा एक लाख १० हजार ८० रुपैयाँ र साना किसान कृषि सहकारी संस्था ली.ले ३५ हजार तीन सय सात लिटर दूधको एक लाख ७६ हजार पाँच सय ३९ रुपैयाँ अनुदान वितरण गरिएको थियो”उहाँले भन्नु भयो ।
चालु आर्थिक वर्षका लागि पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिृकत हरि प्रसाद पराजुलीले बताउनु भयो ।
किसानको पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशु पालक किसानहरूले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही भए पनि राहत मिलेको कृषकहरूको भनाई छ ।

 

 

प्रतिक्रिया