एमालेले गर्न खोजेको समीकरण हो : मुख्यमन्त्री अधिकारी


पोखरा, जेठ ८ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमालेले गर्न खोजेको समीकरण हो पार्टी एकता होइन, पार्टी एकताको आवश्यकता व्यवहारले गर्दै गयो भने आफैँ हुने बताउनुभएको छ ।

एमाले कास्की जिल्ला कमिटीले मङ्गलबार पोखरामा आयोजना गरेको सहिद कृष्ण बहादुर भुजेलको २७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री अधिकारीले राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न बलियो पार्टीको आवश्यकता भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘एमाले पार्टीलाई सुदृढ र बलियो बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ता संवेदनशील बन्नै पर्दछ अन्यथा राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न आवश्यक बलियो पार्टी हुन सक्दैन ।’’ उहाँले हालको सत्ता समीकरणलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो  ।

केही नेता तथा कार्यकर्ताबाट पार्टी विरोधी गतिविधि भइरहेका भन्दै उहाँले असन्तुष्टि पनि जनाउनुभयो । बहालवाला स्थानीय कमिटीकै पदाधिकारीले फेसबुकमा एमाले विरोधी अभियान चलाइएको उहाँले बताउनुभयो । मुख्यमन्त्री अधिकारीले निर्वाचनपछि समान्तर गतिविधि गर्नु भनेको महाअपराध हुने भन्दै त्यस्ता गतिविधि नगर्न सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चुनावपछि समान्तर गतिविधि गर्नु भनेको महाअपराध हो त्यस्तो काम गर्नु हुँदैन ।’’ उहाँले    सहिद परिवार पार्टीप्रति दृढ रहेकै कारण पार्टी यहाँसम्म आइपुगेको भन्दै सबैले सहिदका सपना पूरा गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहिद कृष्ण भुजेल स्मृति प्रतिष्ठान कास्कीका संयोजक विष्णु बरालले प्रतिष्ठानमार्फत गर्न खोजेका कामको बारेमा जानकारी गराउनुभएको थियो । प्रतिष्ठानले पाँच लाख रुपियाँको अक्षयकोष निर्माण गर्ने लक्ष्यका लिएको उहाँले बताउनुभयो । सोही सन्दर्भमा कोषका लागि आफ्नो एक महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धता मुख्यमन्त्री अधिकारीले गर्नुभयो । सोही कार्यक्रममार्फत सहिद कृष्ण बहादुर भुजेल स्मृति छात्रवृत्ति लक्ष्मी माविकी छात्रा मनीषा सुवेदी र जनज्योति माविकी छात्रा आशिका पौडेललाई हस्तान्तरण गरियो ।

तत्कालीन राखी गाविसका भुजेलमाथि २०५४ साल जेठ ४ गते पोखरा २८ कालिका झाँझरमारेमा साङ्घातिक आक्रमण भएको थियो । आक्रमणबाट सख्त घाइते हुनुभएका भुजेलको उपचारको क्रममा जेठ ८ गते १७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया