मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम


विष्णु गौडेल, मध्यविन्दु(नवलपरासी), ८ जेठ (रासस),
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । चालु शैक्षिक सत्र २०८१ देखि नगर भित्रका एकदेखि आठ कक्षासम्मका सबै विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पठन पाठन सुरु गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले बताउनु भयो ।

“विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुंगा साबित हुने हामीले विश्वास लिएका छौ”उहाँले भन्नु भयो ।
स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाता भित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम नेपालमा नै पहिलो पटक सुरु गरिएको नगरप्रमुख अधिकारीले बताउनु भयो ।
“जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठ, राष्ट्र प्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग जोडिएका कुराहरू यस पाठ्यक्रमका प्राथमिकतामा रहने छन्” उहाँले भन्नु भयो ।
विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धान पछि पाठ्यक्रम तयार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनु भयो ।
“विज्ञ समूह वाट नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ”,उहाँले भन्नु भयो “हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एक साथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ ।”
नवजागरण नमुना मावि चोरमाराका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरिएको छ । नेपालमा अहिले सम्म प्रयोग भएका पाठ्यक्रम भन्दा यो निकै भिन्न र व्यवहारिक रहेकाले उपलब्धि पूर्ण हुने पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले बताउनु भयो ।
“कथा र गतिविधिको माध्यमबाट बालबालिकामा विचारशीलता तथा जीवन मूल्य र सम्बन्ध बोध गराउने हेतुले पाठ्यक्रम तयार पारिएको छ”उहाँले भन्नु भयो “विद्यार्थीको आनिवानि, संस्कार, बौद्धिक एकाग्रता, सोचको दायराका क्षेत्रमा यस पाठ्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छ ।”
मध्यविन्दु नगरपालिका भित्रका सबै शिक्षकलाई पाठ्यक्रम सम्बन्धी तालिम सञ्चालन, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिम लगायतका कार्य सम्पन्न गरिएको संयोजक देवकोटाले बताउनु भयो ।
मध्यविन्दु नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालय रहेका छन् । ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि गण्डकी प्रदेश सरकारे नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपैयाँ रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनु भयो ।

 

प्रतिक्रिया