विनयी त्रिवेणी गाउँपालिकाद्धारा स्थानीय पाठ्यपुस्तक निर्माण
विष्णुप्रसाद गौडेल
मध्यविन्दु,१४ वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रम अनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ ।
विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो ।
गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी ’ नामको पाठ्यक्रम निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले विनयी त्रिवेणी गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नु भयो ।
“चालु शैक्षिक शत्र देखि कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक नै निर्माण गरि अध्यापन सुरु गरेका छौ”उहाँले भन्नु भयो “नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको अभ्यास गरेको छौ ।”
पाठ्यक्रममा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताउनु भयो ।
“विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको छ” उहाँले भन्नु भयो “आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने छन् ।”
गाउँपालिकाले हाल स्थानीय पाठ्यक्रमको कक्षा १ देखि ५ सम्मको पाठ्पुस्तकलाई छपाईका लागि पठाइसकेको छ । गाउँपालिका भित्रका सवै विद्यालयहरुमा पाठ्यपुस्तक एक हप्ता भित्रमा निःशुल्क उपलब्ध गराउने गरि तयारी गरिएको विनयी त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताउनु भयो ।
“पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन र छपाइको काम सकेर वैशाख भित्रमा नै विद्यालयमा कार्यान्वयनमा लगिने छ” उहाँले भन्नु भयो ।
पाठ्यक्रमले तहगत सक्षमतासमेत तय गरेको छ । कक्षा १–३ ले गाउँ, वडा र पालिकाको परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान लगायतका सक्षमताहरू हासिल गर्ने पाठ्यक्रममा उल्लेख छ । पाठ्यक्रममा कक्षा ४–५ ले गाउँपालिकाको नक्सांकन, अवस्था पहिचानसँगै जीवनपयोगी सीपलगायतका सक्षमता हासिल गर्ने उल्लेख छ । कक्षा ६–८ ले गाउँपालिकाको इतिहासको जानकारी, गाउँपालिका गठन, सेवा प्रवाह, स्थानीय पर्यटन र व्यापारको सम्भावना अध्ययन गर्न सक्ने सक्षमता हासिल गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ।
आफैंले देखेका, आफैंले प्रयोग गरेका, दैनिकीसँग जोडिएका कुराहरू किताबमा समेटिँदा पढाइमा नयाँपन थपिएको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद बस्यालले बताउनु भयो ।
शिक्षक बस्यालका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, विनयी त्रिवेणी गाउँपालिकाको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थाका बारेमा जानकारी पढाइ हुने गरेको छ ।
विनयी त्रिवेणी गाउँपालिका भित्रका ४२ वटा सामुदायिक र १२ वटा संस्थागत विद्यालय गरि ५४ वटा विद्यालयमा अहिले स्थानीय पाठ्यक्रम अध्यापन भईरहेको शिक्षा शाखा प्रमुख पाण्डेले बताउनु भयो ।