नेपाली श्रमिकका लागि खुल्यो मलेसियाको रोजगारी


काठमाडौं – कोरोना भाइरस महामारी शुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ । मलेसिया सरकारले दिएको जानकारी अनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले विदेशबाट श्रमिक ल्याउन इच्छुक जो रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने बताए ।

उनले भने, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्च समेत जोडिएको छ ।’ काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लैजाने बाटो खुलाइएको जानकारी दिएको छ । कोरोना महामारी शुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान बन्द गरेको थियो ।

अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नु पर्नेछ । यस्तै क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउने छन् ।

प्रतिक्रिया