तयार भयो स्मार्ट लकडाउनको कार्यविधि, जहाँ बढी सङ्क्रमित त्यहाँ कडाइ


काठमाडाैं – नेपालमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै ‘स्मार्ट लकडाउन’को तयारी गरिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति सीसीएमसीले जनाएको छ।

सङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अपनाउँदै स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउन लागेको सीसीएमसी प्रमुख बालानन्द शर्माले बताए। ‘देशमा सङ्क्रमण दर बढेको छ तर सबै भागमा बढेको छैन। त्यसैले जोखिम र आवश्यकता अनुरूप नियम लागु गरिन्छ,’ शर्माले भने।

‘जहाँ बढी सङ्क्रमित छन् त्यहाँ बढी कडाइ हुन्छ। जहाँ सङ्क्रमण दर धेरै छैन त्यस ठाउँलाई चलायमान राख्नुपर्छ।’ के हो स्मार्ट लकडाउन ? सबै क्षेत्र ठप्प नपारी कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको अवधारणा ‘स्मार्ट लकडाउन’ हो।

सीसीएमसीले यसमा सङ्क्रमणको जोखिम र प्रभावलाई ध्यानमा राख्दै निषेधाज्ञामा कडाइ या खुकुलो गरिने जनाएको छ। यस अवधारणालाई कार्यान्वयन गर्न देशका विभिन्न भागलाई उच्चदेखि न्यून जोखिमका आधारमा पाँच वर्ग – रेड, एम्बर, एल्लो, ग्रीन र ह्वाइट जोन – भनिन्छ।

कुन क्षेत्र कुन जोन अन्तर्गत पर्छ भन्ने विषयको तय सङ्क्रमण दर, अघिल्लो साताको सङ्क्रमण दरसँगको तुलनात्मक विश्लेषण, सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या, सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एवम् आईसीयू र भेन्टिलेटरसम्म पुगेका बिरामीको सङ्ख्याको आधारमा हुने शर्माले जानकारी दिए।

शर्माले भने, ‘तथ्याङ्क सङ्कलन र त्यसको विश्लेषणको आधारमा कुन क्षेत्र कुन वर्गमा पर्छ भन्ने यकिन हुनेछ। तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहले समन्वय गर्नेछ।’

सङ्क्रमण दर र त्यसको प्रभाव हेरी निषेधाज्ञामा कडाइ गर्ने जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको हुने शर्माले बताए। उनका अनुसार धेरै जिल्ला एकसाथ प्रभावित भएको खण्डमा कुन तहको कडाइ गर्ने भन्ने विषयको निर्धारण प्रदेश सरकारले गर्नेछ।

प्रतिक्रिया