प्रहरीले बसमा यात्रु बनेर अनुगमन गर्ने


बोमलाल गिरी ,असोज १६ गते । नवलपुर प्रहरीले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सार्वजनिक बसमा यात्रु बनेर अनुगमन गर्ने भएको छ । सार्वजनिक बसका यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै सादा पोसाकमा यात्रु बनेर अनुगमन गर्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी साधनमा हुन सक्ने लुटपाट, चोरीका साथै यात्रुहरूमाथि हुन सक्ने दुर्व्यवहार र मनपरी भाडा असुली रोक्न प्रहरीले यात्रुवाहक बसमा एक जना महिला र एक जना पुरुष गरी २ जना प्रहरी सादा पोसाकमा खटाउने जानकारी दिनुभयो।

उहाँले त्यसका लागि कम्तीमा १० जना प्रहरी छुट्याइएको र नियमित सादा पोसाकमा बसभित्र यात्रु बनेर गैँडाकोटदेखि दाउन्नेसम्म बसमा बसेर गस्ती गर्ने बताउनुभयो ।

शङ्कास्पद लागेको बस वा जुनसुकै बसमा छड्के गर्नेगरी अनुगमन गरिने ढकालले बताउनुभयो । यो योजना बिहीबार घटस्थापनाकै दिनदेखि लागु गर्ने प्रहरीको तयारी छ । गैँडाकोटबाट प्रवेश गर्ने बसमा उक्त स्थानबाट सादा पोसाकका प्रहरी बसमा चढ्ने र दाउन्नेतर्फबाट आउने बसमा सोही स्थानबाट प्रहरी बसमा चढेर निगरानी गर्नेछन् ।

छड्केमा रहेको प्रहरीले नजिकको प्रहरी कार्यालय वा राजमार्गमा गस्तीमा रहेको प्रहरीलाई खबर गर्ने र तुरुन्त कारबाही अगाडि बढाउने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । मंगलबारदेखि जिम्मेवारी सम्हाल्न नवलपुर आइपुग्नु भएका ढकालले चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको बताउनुभयो ।

प्रहरीले चाडपर्वको समयमा यात्रुबसमा विशेष निगरानी राख्नेदेखि यात्रु सहायता कक्षा स्थापना गर्ने, सादा पोसाकमा गाउँघरमा गस्ती गर्ने, बसमा क्षमताभन्दा बढी यात्रु चढ्न नदिन ठाउँ–ठाउँमा चेकिङ गर्ने लगायत योजना रहेको बताएको छ।

प्रहरीले सार्वजनिक क्षेत्र, यात्रु चढ्ने, उत्रने मुख्य स्थानमा समेत निगरानी बढाउने उहाँले बताउनुभयो । यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा ८ वटा यात्रु सहायता कक्ष निर्माण गरिने उहाँको भनाइ छ ।

चाडपर्वको समयमा हुन सक्ने घटना नियन्त्रणका लागि सुरक्षा प्रदान गर्न जिल्लाभर ३ सय ४५ प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया