मध्यविन्दुका बाढी प्रभावित परिवारलाई राहत वितरण


कावासोती, असोज १४ गते । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका मध्यविन्दु नगरपालिका –२, सितापुर र सेरीका दुई सय बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण मध्यविन्दु नगरपालिकामा करिब चार सय ५० घरपरिवार डुबानमा परेका थिए ।

मध्यविन्दुकै वडा नम्बर –६ भडराका दुई सय घर र वडा नम्बर–१५ ,का १८ घर डुबानमा परेको छ । जसमध्ये अतिप्रभावित परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा मध्यविन्दु नगरपालिका, जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त सहयोगमा राहत प्रदान गरेको हो ।

प्रभावितलाई सेल्टर किट, हाइजिन किट, डिगनिटी किट, साबुन, झुल, खानेपानी शुद्धीकरण गर्ने फिल्टर, खाद्यान्न,लत्ता कपडा लगायतका सामग्री दिइएको छ । सुत्केरी महिलाका लागि छुट्टै किसिमका सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका संयोजक देवेन्द्र आचार्यले बताउनुभयो । यो सँगै बाढी प्रभावित क्षेत्रहरूमा त्रिपाल, कम्मल, खाद्यान्न, लत्ताकपडा, र औषधी वितरण भइरहेको छ । स्थानीय प्रशासनले पनि बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै आवश्यक सहयोग पुर्‍याइरहेको छ ।

नगरप्रमुख भीमलाल अधिकारीले पालिकामा बाढी प्रभावितलाई अति आवश्यक पर्ने सामग्री वितरण गरेको बताउनुभयो । प्रभावितलाई गाँस, बास र कपासको आवश्यकतालाई हेरी नगरपालिका र विभिन्न संस्था मार्फत राहत वितरण सुरु गरिएको बताउनुभयो । थोरै भए पनि घाउमा मलमपट्टी लगाउन नगरपालिका जुटेको बताउनु भयो । नगरपालिकाका कर्मचारीले समेत एक दिनको तलब प्रभावितलाई सहयोग गरेको बताउनुभयो ।

अति प्रभावितलाई पहिलो प्राथमिकता दिएपनि सबैलाई वितरण गर्ने उहाँको भनाइ छ । नगरपालिकाले घुम्ती शिविर समेत सञ्चालन गरेको बताउनुभयो ।

उहाँले मध्यविन्दु नगरपालिकामा सबै पालिका भन्दा बढी कृषि लगायत अन्य क्षेत्रमा क्षति पुगेको बताउनुभयो । यहाँका स्थानीयलाई विभिन्न तवरबाट सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि पशुचौपाय र कृषिमा क्षति पुगेकाले यकिन तथ्याकं निकाल्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया