पहिरोका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध


मध्यविन्दु(नवलपरासी), २१ भदौ,
कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी(बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ । गए राति देखि परेको अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार कालीगण्डकी कोरिडोर अन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटो सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
पहिरोका कारण आज बिहान साढे ७ः३० बजे देखि सडक पूर्ण रूपमा बन्द भएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो । अवरुद्ध भएको सडक खुलाउने प्रयास भई रहेको उहाँले बताउनु भयो । कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया