चक्रवातकोे प्रभाव नेपालमा देखिन थाल्यो, केहिदिन माैसम प्रतिकुल


काठमाडौं – अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । ‘ताउ ते’ नाम दिइएको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।

‘अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो’, अर्यालले भने । सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिएका छन् ।

पर्सी बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ ।

तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकाले बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने मौसमविद अर्यालले बताएका छन् ।

आरोहणमा नजान सुझाव
अहिले आरोहीहरु सगरमाथासहित देशका विभिन्न हिमालमा आरोहणका लागि अनुकूल मौसम पर्खिरहेका छन् । तर अब केही दिन मौसम प्रतिकूल हुने भएकोले आधार शिविरबाट माथि नजान मौसम पूर्वानुमान् महाशाखाले आग्रह गरेको छ ।

अरब सागरमा विकसित आँधीका कारण नेपालका हिमाली क्षेत्रका मौसम प्रतिकूल हुने भएकोले आरोहणमा नजान र माथिल्ला शिविरमा पुगेकाहरुलाई पनि तल सुरक्षित ठाउँमा झर्न अनुरोध गरेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

प्रतिक्रिया