महिला हिंसा र कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया देवचुलीमा सम्पन्न
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसरमा देवचुलीमा महिला हिंसा र कानुनी सचेतना सम्बन्धी छलफल र अन्तरक्रिया सम्पन्न गरिएको छ । “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” नारा सहित ११४ औँ नारी दिवसको अवसरमा देशभर नै विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको सन्दर्भमा सरोकारवाला सँग किशोरीहरूको उपस्थितिमा सो कार्यक्रमको आयोजना गरिएको संस्थाकी राधा बोटेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क. ले हिंसाका प्रकारहरू, हिंसा तथा दुर्व्यवहार हुने कारणहरू, हिंसा तथा दुर्व्यवहारका असरहरू, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, ज्येष्ठ नागरिक माथि हुने हिंसाको अवस्था र त्यसको तथ्याङ्क, हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरू सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि, आमा समूह, महिला समूह, अभिभावक र किशोरीहरूको भूमिका र हिंसा, दुर्व्यवहार भएमा निकायहरूमा समन्वय गर्न सकिने निकाय तथा महिलामा लगानीको महत्त्वको बारेमा जानकारी गराउँदै प्रस्तुतीकरण गर्नु भएको थियो ।
देवचुली नगरपालिका कार्यपालिका सदस्य फुलमाया विश्वकर्माले हिंसा न्यूनीकरण र महिलाहरूलाई सशक्तीकरण गर्नको लागि महिलाहरूलाई नेतृत्व र आयआर्जनको क्षेत्रमा अगाडि ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै उहाँले महिला लक्षित कार्यक्रम ल्याउनका लागि सबै महिला जनप्रतिनिधिहरू एकजुट भएर पालिकामा पहल पैरवी गर्न आवश्यक रहेको कुरा पनि बताउनु भएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका किशोरी अभियन्ताहरू रितिका पोख्रेल र सुधा सुनारले नाटकीय गीति कथाको माध्यमबाट किशोरी र महिलामाथि हुने हिंसा तथा दुर्व्यवहार विरुद्ध सन्देशमूलक प्रस्तुति गर्नु भएको थियो । साथै नवलपुर किशोरी सञ्जालका अध्यक्ष एवम् किशोरी अभियन्ता विद्या ढुङ्गानाले देवचुली नगरपालिकामा विगतमा सञ्चालन भएको किशोरी सशक्तीकरण कार्यक्रममा जोडिएर अभियानमा लाग्दाको सिकाई र उपलब्धिहरूको बारेमा समेत अनुभवहरू बताउनु भएको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले देवचुली नगरपालिकामा विगतमा सञ्चालन भएको किशोरी सशक्तीकरण कार्यक्रम र फलो अप अन्तर्गत भइरहेका गतिविधिहरू तथा अभियानहरूको बारेमा जानकारी दिँदै कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य सरस्वती पाठकले जनप्रतिनिधिहरू विगतमा पनि यस्ता कार्यक्रमहरूमा सहभागी भएर धेरै कुरा सिकिरहेको तर आफूले सिकेको जानेको कुरा स्वयम् आफूमा लागू गरिरहेको छौँ कि छैनौँ र व्यवहारिक रूपमा अरूलाई सिकाउन कार्यान्वयनमा ल्याएका छौँ कि छैनौँ भन्ने कुरामा साँच्चै नै गम्भीर हुने पर्ने कुरा बताउनु भएको थियो ।
उहाँले कार्यक्रममा आफ्ना छोरीलाई पनि छोरा सरह समान व्यवहार गरी अवसर दिन, छोरीले पनि गर्न सक्छन् भन्ने विश्वासले अगाडी बढ्न र साथ सहयोग गर्नका लागि अभिभावकहरू सचेतना मूलक गतिविधि गाउँ गाउँ सम्म पुर्याउनु पर्नेमा जोड दिनु भएको थियो । सो कार्यक्रमको सभाध्यक्ष मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुरको अध्यक्ष सविता पङ्गेनी, प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपुरको सदस्य सरस्वती पाठक रहनु भएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्यहरू, वडा सदस्य, समुदाय स्तरमा रहेका विभिन्न आमा समूह, महिला समूह तथा शिक्षक प्रतिनिधिहरू, अभिभावक, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क., मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुरका प्रतिनिधिहरू, किशोरी सञ्जालको अध्यक्ष विद्या ढुङ्गाना, किशोरी अभियन्ताहरू गरी ४० जनाको उपस्थिति रहेको थियो कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, मेची महाकाली बुहारी संयुक्त आवाज नवलपुर शाखा, नवलपुर किशोरी सञ्जाल र देवचुली वडा नं १६ को सहकार्य र क्यान्नलानको सहयोगमा गरिएको थियो ।