हुप्सेकोटमा प्रथम झरना खोला महोत्सव सुरु
२५ माघ, नवलपुर । नवलपुरमा प्रथम झरना खोला पर्यटन तथा सांस्कृतिक महोत्सव २०८० बिहीबार देखी सुरु भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ शङ्खदेव झरना खोलामा बिहीबार एक समारोहका बिच महोत्सव सुरु भएको आयोजक संस्थाले जनाएको छ ।
महोत्सव झरना खोला सामुदायिक मगर होमस्टेको आयोजनामा भएको हो । महोत्सवको पहिलो दिन होमस्टेका अध्यक्ष सागर गाहाको अध्यक्षतामा रहेको कार्यक्रम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो । पर्यटन मन्त्री थापाद्वारा उद्घाटन भएको महोत्सव माघ २७ गते शनिवार सम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री थापाले नवलपुर जिल्लाको पहाडी भेगमा रहेको झरना खोला पर्यटकीय सम्भावना बोकेको स्थल भएको बताउनु भयो । पर्यापर्यटन संरक्षणका लागि यहाँका समुदायले गरेका यो महोत्सवले झरना खोला पर्यटन विकासमा अहम् भूमिका खेल्ने बताउनु भयो ।
यस्तै गरी मन्त्री थापाले घरेलु मदिरालाई कानुनीरुपमा वैधानिकता दिनका लागि अब गण्डकी प्रदेश सरकारले कोदो लगायतका अन्नबालीबाट बनाइएका घरेलु मदिरा सम्बन्धीको विधेयक सदनमा लैजाने तयारी गरेको पनि बताउनु भयो ।
उहाँले गण्डकी प्रदेश भित्र रहेका विभिन्न पर्यटकीय स्थल , विभिन्न जातजातिको संस्कार, संस्कृति संरक्षणका लागि प्रदेश सरकार सदैव लागि परिरहेको बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले ग्रामीण क्षेत्रको विकास गर्न सकेमा मात्रै नेपालको विकास हुने बताउनु भयो ।
उहाँले नवलपुर जिल्लाको ग्रामीण भेग झरना खोला लगायतका पर्यटकीय स्थल विकास प्रवर्द्धनका विषयमा प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकमा उठाउन पर्यटन मन्त्रीलाई आग्रह गर्नुभयो । यस्तै गरी उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै नेपाल होमस्टे महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमशँकर मर्दनियाले झरना खोला जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा परिचित हुँदै गएको बताउनु भयो ।
उहाँले यसको वृद्धि विकास उजागर गर्नका लागि पर्ने युवा जनशक्तिको कार्य प्रशंसायोग्य भएको पनि बताउनु भएको छ । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूको विशेष आतिथ्य रहेको थियो ।
मौलिक तथा परम्परागत सांस्कृतिक प्रदर्शनी , राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति , जातीय भेष भूषा तथा मौलिक खानाको प्रवर्द्धन , कृषि तथा हस्तकला प्रदर्शन लगायत महोत्सवको आकर्षणहरू रहेका छन् ।