राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका ५ सय २१ जना दीक्षित


 २१ माघ,नवलपुर । नवलपुरको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरबाट ५ सय २१ जना क्याडेट छात्र, छात्रा दीक्षित भएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित माघ २ गतेबाट भएको सी.सं. १८ सिनियर डिभिजन तालिमको अन्तिम दीक्षान्त कवाज समारोहमा २४४ जना छात्र र २७७ जना छात्रा गरी ५ सय २१ जना क्याडेट दीक्षित भएका हुन ।

तेस्रो चरण वार्षिक सामूहिक क्याम्पको दीक्षान्त कवाज समारोहमा दीक्षित क्याडेटहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले निस्वार्थ सेवा भावबाट समर्पित भई देशभक्त नागरिक हुनुपर्ने बताउनु भएको छ ।

तालिममा सिकेका सिपहरूले भविष्यमा आउन सक्ने चुनौतीलाई सहज रूपमा सामना गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्र र छात्राहरू तथा विद्यालयलाई पुरस्कार वितरण समेत गरिएको थियो । समारोहमा क्याडेट छात्रछात्राहरूले विभिन्न कलाहरू समेत प्रस्तुत गरेका थिए ।

राष्ट्रप्रति समर्पित, राज्य संस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निर्माण गर्ने उद्देश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो ।

प्रतिक्रिया