विनयी त्रिवेणी गाउँपालिकाको १४ औँ गाउँसभावाट तीन वटा ऐन पारित 


विनयी त्रिवेणी ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको १४ औँ गाउँ सभाले तीन वटा ऐन पारित गरेको छ । शुक्रवार सम्पन्न गाउँ सभाले तीन वटा ऐनका साथै बजेट तथा कार्यक्रम संशोधन एवं रकमान्तर गरेको हो । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँ सभा समक्ष पेस गर्नु भएको स्थानीय वन विधेयक २०८०, आर्थिक कार्यविधि सम्बन्धी ऐन २०८०,युवा तथा खेलकुद सम्बन्धी ऐन २०८० पारित गरिएको हो ।
त्यसै गरी गाउँ सभाले चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तर गरी पारित गरेको छ । संशोधन गरिएको कार्यक्रम तर्फ विनयी त्रिवेणी १० शय्याको अस्पताल निर्माणका लागि १ करोड बजेट विनियोजन गरिएको छ । त्यसै गरी दमै टाडी हुँदै बगुवन मुखिया गैरा सडक स्तरोन्नतिका लागि ५५ लाख, होङ्सी कोल्टाडी ट्रस्ट पुल निर्माण तर्फ ४० लाख , होङ्सी गेट कोल्टाडी देखि खोरन्डी सम्मको बाटो स्तर उन्नतिका लागि ५० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताउनु भयो ।
सभाले अन्य वडामा समेत विभिन्न कार्यका लागि कार्यक्रम र बजेट संशोधन र रकमान्तर गरेको छ ।
गाउँ सभाको बैठकमा बोल्दै सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकाको कार्यक्षमता बढाउँदै लानुपर्ने बताउनुभयो । पालिका भित्रका विभिन्न समस्या समाधानका लागि सबैले आफ्नो कार्य क्षमता बढाउँदै समाधानमा लाग्नुपर्ने बताउनुभयो । पालिकाको विकास गर्नु नै आफ्नो ध्येय भएकाले यस कार्यमा सबैको उत्तिकै साथ र सहयोग आवश्यक रहने उहाँले बताउनुभयो ।
त्यसै गरी गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले गाउँपालिका भित्र समान विकासका लागि सबै एक भएर लाग्ने बताउनु भयो । भौगोलिक रूपमा ठुलो गाउँपालिका भएकाले सबै नागरिकको हक अधिकारका लागि एक जुट भएर लाग्ने बताउनु भयो ।
सभाका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरे मात्रै विकासले गति लिने बताउनुभयो । विकासको कार्यमा दुवैको अन्तरसम्बन्ध रहेकाले सोही अनुसार लाग्नुपर्ने र समस्या समाधानमा जुट्नुपर्ने बताउनुभयो । गाउँ सभाको बैठकमा उपाध्यक्ष भगवती वैदवारले स्वागत मन्तव्य राख्नुभएको संगम गिरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया