तरकारी खेती बाट मनग्य आम्दानी गर्दै देवचुलीका मियाँ
मध्यविन्दु (नवलपरासी), १० माघ, रासस
नवलपरासी(बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका १६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनु भएको छ । ५८ वर्षीय मियाँ विगत २० वर्ष देखि देवचुलीमा तरकारी खेती गर्दै आउनु भएको छ ।
२० वर्ष अघि कामको खोजीमा वीरगन्जबाट देवचुली आउनु भएका मियाँले व्यावसायिक तरकारी खेती वाटै जग्गा जमिन किनेर परिवार सहित स्थायी रूपमा यहीँ बसोबास गर्न थाल्नु भएको हो । बितेको २० वर्षमा तरकारी वाट नै मियाँको जीवन धेरै बदलिएको छ भने पारिवारिक स्थिति पनि निकै राम्रो भएको छ ।
मियाँले भन्नु भयो,“तरकारी खेतीबाट नै मैले जीवनमा प्रगति गरेको हुँ, यहीँ व्यवसायबाट सबै परिवारलाई यहीँ सारे, घर घडेरी जोडे अनि चार जना छोरा छोरीको पढाइ सँगै विवाह पनि उम्काई सके ।”
पूर्व पश्चिम राजमार्ग सँगै जोडिएको दुई बिगाहा जमिनमा खेती गर्नु भएका मियाँले वार्षिक तीन सिजनमा तरकारी उत्पादन गर्ने गर्नु भएको छ । अहिले काउली, बन्दा, बड्काउली बेच्न भ्याई नभ्याई भएको छ । केही हप्ता अघि सम्म काउलीको मूल्य नपाएर चिन्तित मियाँले अहिले काउली बारीबाटै २५ रुपैयाँ किलोमा .बेच्नु भएको छ ।
“काँक्रो करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु, लगाएको मध्य आठ कट्ठाको तरकारी बिक्री भई सक्यो”,उहाँले भन्नु भयो,“यो सिजनमा काउलीको भाउ नआउँदा केही घाटा भयो तर अहिले बजार सुधारियो पुरै घाटा त हुँदैन कवर भइहाल्छ ।”
वर्ष भरि तरकारी फलाउने र बेच्ने गर्ने मियाँले नाफा घाटाको हिसाब भने वैशाखमा मात्र गर्ने गर्नु भएको छ । एक सिजनमा तरकारी लगाउँदा करिब तीन लाख खर्च लाग्ने गरेको उहाँले बताउनु भयो । कुनै सिजनमा लगानी समेत नउठ्ने गरी घाटा पनि हुने गरेको मियाँको अनुभव छ ।
“तरकारीको बजार भाउ घटवढ हुनाले सबै सिजनमा नाफा नै हुन्छ भन्ने हुदैन्”,उहाँले भन्नु भयो,“एक सिजनमा घाटा भए पनि अर्कोमा त्यसलाई परिपूर्ति गर्ने लक्षका साथ काम गर्ने गरेको छु, त्यसैले आज सम्म टिकेको हु ।”
आफूले सक्दासम्म नर्सुल्ला मियाँलाई तरकारी खेतीमा नै रमाउने मन छ । यहीँ व्यवसायबाट राजमार्ग छेउमा १२ कट्ठा जमिन जोडन सफल हुनु भएका मियाँका छोरा छोरी पनि अहिले तरकारी खेतीमा सामेल भएका छन् । “मेहनत गरे कृषि क्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्ययता र लगनशीलता चाहिन्छ”उहाँले भन्नु भयो ।
देशमा सम्भावना नदेखेर युवाहरू बिदेसिने क्रम बढी रहेको बेलामा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा नर्सुल्ला मियाँ जस्तै किसानहरूले तरकारी खेतीमार्फत वैदेशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् । त्यसै मध्यका अर्का देवचुली १६ कै नौसाद मियाँले पनि दुई बिगाहा जमिनमा तरकारी खेती गर्नुहुन्छ । वीरगन्ज घर भएका मियाँको परिवार तरकारी खेती कै लागि देवचुली आएको हो ।
उहाँको बारीका काउली फलेका छन् । तिन सिजन तरकारी फलाउने मियाँले अहिले धान भित्राए पछि टमाटर, भेन्डी, घिरौँला लगाउनुभएको छ । उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन् । बजारको खासै पिर छैन ।
“तीन सिजन तरकारी खेती गर्ने गरेका छौ, धान काटेर तरकारी लगाउँछौ”,उहाँले भन्नु भयो,“तीस मुरी धान फल्छ यही जमिनमा अनि तरकारी लगाउँछौ, वर्ष भरि खाने अन्न पनि जोहो हुन्छ ।”
अघिल्लो सिजनमा लगाएको काउलीको उचित मूल्य नपर्दा मियाँले आधा नै घाटा बेहोर्नु प¥यो । अबको उत्पादनले भने राम्रो आम्दानी हुने मियाँले आशा राख्नु भएको छ । तरकारीले लागत अनुसारको मूल्य पाए सबै खर्च कटाएर एक सिजनमा ६० हजारसम्म बचत हुने उहाँको अनुभव छ । तरकारी खेती बाट नै मियाँको घर परिवार राम्रोसँग चलेको छ ।
“कहिलेकाहि ठिकै ठिकै हुन्छ, कहिले काहि घाटा पनि हुन्छ, आत्तिन्न भएन ”,उहाँले भन्नु भयो ,“एक सिजनमा छ,सात लाखको कारोबार हुन्छ ।”
तरकारी खेती वाट नै मियाँले छोरा छोरीको पठन पाठन औषधोपचार लगायतको घर खर्च राम्रो सँग चलाउनु भएको छ । उत्पादन भएको तरकारी स्थानीय बजार सँगै नारायणगढ, पोखरा, काठमाडौँ निर्यात हुने गरेको उहाँले बताउनु भयो ।
“वर्षै देखि व्यवसायी तरकारी खेती गरे पनि सरकारले भने आवश्यकता अनुसार सहयोग गरेको छैन”,उहाँले भन्नु भयो,“सरकारले दिने अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन।”