चिचर र घोगी नवलपुरमा रहेका घरबासको पहिचान
नवलपरासी, माघ १–
नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ ।
नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ । “हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो चिचर पकाउने गरेका छौँ”, अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भन्नुभयो, “थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेको छ ।” चिचरसँगै नुमैचा (भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो) समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोले बताउनुभयो । घरबासले पर्यटकलाई बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा, माछा पस्किने गरेको सञ्चालक महतोले बताउनुभयो ।
“अमलटारी घरबास भन्ने बित्तिकै पाहुना चिचर र माछा सम्झन्छन्”, अमलटारी घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनिया थारुले भन्नुभयो । थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको अध्यक्ष मर्दनिया थारूले बताउनुभयो । नेपाल घरबास एसोसिएसनका केन्द्रीय अध्यक्षसमेत रहनुभएका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पु¥याउने काम गरेको छ । साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन उत्तिकै भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । “घरबासले स्थानीय रहनसहन र खानपानलाई बजारीकरण त ग¥यौँ नै, बजारीकरण कै क्रममा नवलपुरका घरबासको पहिचान चिचर, घोगी र माछा बन्यो”, मर्दनियाले भन्नुभयो, “घरबासलाई थारू परिकारले समेत चिनाएको छ ।”
चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन् । थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्राय चिचर, नुमैचा, घोगीजस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उहाँले बताउनुभयो । थारू समुदायले मात्रै विशेषरुपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, यसले गर्दा धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई टर्काछौँ”, अध्यक्ष महतोले भन्नुभयो । घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उहाँले बताउनुभयो ।
अमलटारी घरबासमा मकवानपुरबाट आउनुभएका चिरञ्जीवी अर्याललाई चिचर नौलो परिकार लागेको बताउनुभयो । हेर्दा भातजस्तै भए पनि विशेषरुपले पकाएकाले फरक लागेको उहाँले बताउनुभयो । “हेर्दा सामान्य लागे पनि विशेष तरिकारले चिचर पकाइदो रहेछ, त्यसमा माछा, घोगीसँग खाँदा फरक स्वाद लाग्यो”, अर्यालले भन्नुभयो ।
थारू समुदायमा पहिलेपहिले तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताउनुभयो । अनदीको चामलको तयार पारिने हुँदा पोषिलो हुने र यसले शरीरमा तागत दिने, जिउ दुखेको सञ्चो गराउने भएकाले चिचर खाने गरिएको उहाँले बताउनुभयो । “पहिले पहिले बढी श्रममूलक काम गर्नुपर्ने हुँदा आडिलो भोजनको रुपमा साथै जिउ दुखेको सञ्चो हुन्छ भनेर अनदिको चामल उसिनेर खाने गरिन्थ्यो”, अध्यक्ष महतोले भन्नुभयो । जाडो मौसममा खाँदा शरीरमा उर्जा बढाउने हुँदासमेत जाडो मौसममा चिचर खाने प्रचलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको उहाँको भनाइ छ । मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते खाने गरिएको उहाँले बताउनुभयो । “पुसको अन्तिम दिन पकाउने, केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ, माघीको दिन निकालेर खाने गरिन्छ”, अध्यक्ष महतोले भन्नुभयो ।