पोखरा जाने नवलपुरको क्रिकेट टोलीको विदाई
गैँडाकोट । प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रादेशिक खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउन पोखरा जाने नवलपुरको क्रिकेट टोलीलाई आज विदाई गरिएको छ । कमल परियारको नेतृत्वको नवलपुरको क्रिकेट टोलीलाई शनिबार विदाई गरिएको हो ।
नवलपुर क्रिकेट संघको आयोजना र गैँडाकोट २ को समन्वयमा भएको कार्यक्रममा क्रिकेट खेलाडीलाई सफलताको शुभकामना सहित विदाई गरिएको हो । यस्तै गैँडाकोट २ ले खेलाडीका लागि १६ सेट ट्रयाक सुट सहयोग गरेको थियो । कार्यक्रममा खेलाडीलाई ट्रयाक सुट वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट २ का वडा सदस्य खगराज आचार्यले खेलको शारिरीक स्वास्थ्य सँगै मानसिक स्वास्थ्यको लागि पनि खेलको महत्त्व हुने बताउनुभयो । उहाँले खेल विकासका लागि वडाले सक्दो पहल र सहयोग गर्ने पनि बताउनुभएको छ । साथै उत्कृष्ट खेल प्रदर्शन गरेर आउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
नवलपुर क्रिकेट संघका अध्यक्ष धामनाथ सापकोटाले क्रिक्रट विकासमा लागि वडास्तरिय, विद्यालयस्तरिय, कलेजस्तरिय लगायतका खेल खेलाउने योजनाका साथमा अघि बढेको बताउनुभएको छ । उहाँले नेपाल क्रिकेट संघको बार्षिक पात्रोसंग नबाझिने गरी खेल तालिका बनाउने योजना रहेको समेत बताउनुभयो ।
नवलपुर क्रिकेट संघका उपाध्यक्ष इन्द्र सिग्देलले गैँडाकोट नगरपालिकाले क्रिकेटका लागि गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले यो सहयोगले आगामी दिनमा खेलाडीलाई प्रोत्साहन मिल्ने र नवलपुरको नाम देश तथा विदेशभर चिनाउन खेल्ने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरु सकिला परियार, सिता श्रेष्ठ, कासिराम अर्याल, नवलपुर क्रिकेट संघका कोषाध्यक्ष सागर कुमार गैरे, सदस्यहरु रघु कँडेल, ओमकार कँडेल, इडीयूल्याण्ड कन्सल्टेन्सी नारायणगढका सुदन पराजुली लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण नवलपुर क्रिकेट संघका सचिव विवेक न्यौपानेले गर्नुभएको थियो ।