नवलपुरका किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढ्ने अनुमान


मध्यविन्दु (नवलपरासी), १६ कात्तिक , रासस
नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । यति बेला खेत–खेतमा किसान धान थन्काउनमा व्यस्त छन्  । अहिले गाउँघरमा धान काट्न र भित्राउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेको विष्णुनगर कृषि सहकारी संस्था कावासोती नगरपालिका–६ का अध्यक्ष खुमकान्त गौडेलले बताउनु भयो ।
“खेतीबाली लगाउनदेखि भित्राउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ,”उहाँले भन्नु भयो,“विशेष गरेर अहिले धान थन्काउने चटारो भएका बेला धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले कृषकहरूलाई सजिलो बनाएको छ ।”
धान झाँट्ने समयमा थ्रेसरको प्रयोग गरिने हुँदा कृषकलाई सहज भएको र एकै दिनमा धेरै जनाको धान थन्काउन पाएको कावासोती नगरपालिका–१५ का कृषक धनपती अधिकारीले बताउनुभयो ।
जिल्लाका किसानलाई अहिले धान काट्न थन्क्याउन भइनभ्याइ रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको तिवारीले बताउनु भयो ।
“यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,”उहाँले भन्नु भयो ।
यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने अनुमान गरिएको छ । जिल्लामा अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।
“नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ,”उहाँले भन्नु भयो, “सिफारिस भएका ८६ जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लामा खेती हुने गरेको छ ।”
यो वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया