हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन
हुप्सेकोट, १५ कात्तिक,
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास देखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको जनताको बलमा निर्माण गरिने बताउनु भएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व) स्थित हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नु हुदै मुख्यमन्त्री पाण्डेले विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीवासबाट त्रिवेणी पुग्ने मोटरबाटो बनाउन संघीय सरकारले सहजिकरण नगरे जनताको साथ लिएर बाटो निर्माण गरिने बताउनु भएको हो ।
“केन्द्र सरकारले प्रदेश सरकार पनि स्वायत्त सरकार हो भनेर बुझ्नु पर्दछ, यदि दुम्कीवास–त्रिवेणी मोटरबाटो बनाउने कुरामा अल्झाईरहने हो भने हामी स्वायत्त सरकारको हैसियतले केन्द्रसँगको सम्बन्ध तोडेर अघि बढ्छौ”उहाँले भन्नु भयो “नवलपरासी(बर्दघाट सुस्तापूर्व) लाई प्रदेशसँग जोड्न नसक्दा यो जिल्लाले एक्लिएको महसुस गरेको छ ।”
भारत र चीनको नाका जोड्ने त्रिवेणी–कोरला सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । प्रदेशको लाइफलाइन मानिएको यो सडक खण्ड निर्माणका लागि त्रिवेणीदेखि दुम्कीवाससम्म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माण हुन सकेको छैन ।
“केन्द्र सरकार र निकुञ्जले यो सडक निर्माणमा सहजीकरण नगरेमा प्रदेश आफैँले सडक निर्माण गर्ने छ,”उहाँले भन्नु भयो,“चीनसँग जोडिएको कोरलानाका केही समयपछि खुल्दै छ, यसले प्रदेशको आर्थिक गतिविधिमा वृद्धि हुने छ ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व) बाट प्रदेश राजधानी पोखरा पुग्ने सडक नहुदा जनताले धेरै दुख पाएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।
हुप्सेकोट गाउँपालिकाको वडा नं.४ झ्यालबासमा निर्माण गरिएको तीनतले नयाँ प्रशासकीय भवनको बुधवार उद्घाटन गरिएको हो । करिब आठ करोड रुपैयाँ लागतमा भवन निर्माण कार्य सकिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।
“अहिले सम्म साविकको गाउँविकास समितिको भवन वाट कार्यालय सञ्चालन गर्नु पर्दा जनप्रतिनिधि, कार्यालय र शाखाहरू छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएको थियो अब एकै ठाउँमा काम हुने हुँदा सेवाग्राहीलाई सहज हुने भएको छ”,उहाँले भन्नु भयो ।
भवनको पहिलो तला पहिलो चरणमा निर्माण गरिएको थियो भने बाकी निर्माण कार्य दोस्रो चरणमा पुरा गरिएको हो ।
“भवनको पहिलो तला प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो भने दोस्रो र तेस्रो तला संघिय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो”,उहाँले भन्नु भयो ।
ह्याविट्याट कन्सट्रक्सन इन्जिनियर्स प्रा.लि.काठमाडौँले २०८१ जेठ मसान्त सम्म निर्माण सक्नुपर्ने गरि सम्झौता गरेकोमा समय अगावै निर्माण कार्य सकिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो ।
“भवनको दोस्रो र तेस्रो तला आगामी जेठ मसान्त सम्म निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनी सँग सम्झौता भएको थियो, सम्झौता मिति भन्दा अगाडि नै भवन निर्माण कार्य सकिएको छ”,उहाँले भन्नु भयो ।
सात सय ५० वर्ग मिटरमा बनेको भवन भूकम्प प्रतिरोधी र अपाङ्ग मैत्री बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो ।