थारू समुदायको मेडरी नाच लोप हुने चिन्ता
विष्णु गौडेल,मध्यविन्दु, १० कात्तिक,
थारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिदा लोप हुने अवस्थामा पुगेको छ । थारू समुदायले परापूर्वकाल देखि नाच्दै आएको मेडरी नाच प्रति युवा पुस्ताको चासो कम हुदा लोप हुने अवस्थामा पुगेको हो ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणी गुरौले बताउनु भयो ।
“मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरि तीन प्रकारको हुन्छ, महाभारतको लडाईमा पाँचपाण्डबहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलोकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ”, उहाँले भन्नु भयो ।
थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको गुरौले बताउनु भयो । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नु भयो,“ पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्थ्यो ।”
महाभारतको लडाईमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताका सहितको ठुलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ । यस नाच प्रति युवाहरूको चासो भने हराउदै गएको थारू अगुवा पुष्परत्न महतोले बताउनु भयो ।
“जिल्लामा यो नाचको लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवाहरू जुट्छन्”,उहाँले भन्नु भयो,“तर आवश्यक सामान बनाउनको लागि समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भईरहेको छ ।”
थारू समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व रहेको छ । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिँदै गएको महतोले बताउनु भयो ।
“पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले चासो देखाउन छाडे”, महतोले भन्नुभयो, “अहिले नाच हराउँदै जान थालेको छ ।”
थारू समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको थारू समुदायका बुढापाकाहरूले बताउने गरेका छन् । रासस