गैँडाकोट ३ का जेष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता


नवलपरासी, ६ कत्तिक
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका ३ केलादीका ९२ वर्षीय सानुमाया सुनार सामाजिक सुरक्षा भत्ता घरमै पाउदा निकै खुसी हुनुहुन्छ । वडा अध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिडीमा बस्नुभएकी सानुमायांले पहिले बैँकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गर्नुभयो ।
“विरामी हुदा छोरीहरूले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फर्किनु पर्दथियो, साह्रै गाह्रो हुन्थ्यो”,उहाँले भन्नु भयो,“अहिले वडा अध्यक्ष सहितको टोलि घरमा नै आएर भत्ता दिनु भयो निकै खुसी लाग्यो ।”
सानुमाया दीर्घ रोगी हुँनुहुन्छ, हातगोडा दुख्ने र हिड्न निकै समस्या हुने गर्दछ । साँझ बिहान घरको आगनमा हिँडडुल गरेपनि लामो दुरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसी भन्दा पनि बैँकमा लाइन बस्नुपर्ने, घन्टौ लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिनहरू स्मरण गर्दै सानुमायाले भन्नुभयो “२०७४ को निर्वाचन पछि जनप्रतिनिधिले घरमै भत्ता ल्याईदिएका छन, धैरे सहज भएको छ ।”
स्थानीय ९० वर्षीय श्यामलाल आचार्यलाई बैँकसम्म आउन दुई घण्टा भन्दा बढि समय लाग्ने गर्छ । पैदल हिडेर जानुपर्ने बाध्यता अर्को तर्फ शारीरिक अशक्तताका कारण झन बढि जोखिम भएको भन्दै श्यामलालं भन्नुहुन्छ “समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउदा सुरक्षित महसुस भएको छ, मलाई निकै खुसी लागेको छ । ”
८१ वर्षीय एकनाथ सुवेदीको पनि सामाजिक सुरक्षा भत्ता लिन जादाको अनुभव पनि श्यमलालको जस्तै छ । वर्षामा रुझ्दै होस वा घण्टौ पैदल हिडेर बैँक पुग्दा काम नबनेर फर्किनुपरेको दिनहरू उहाँ अहिले पनि सम्झनु हुन्छ ।
उहाँ भन्नुहुन्छ“समय सँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यहीँ रहेछ ।”
भौगोलिक विकटताका कारण बैँकसम्म आउनको लागि घण्टौको यात्रा गर्नुपर्ने र बैँकमा पनि लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक जेष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।
“वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३० जना नागरिक छन्”,उहाँले भन्नु भयो,“अहिले दुई सय लाभग्राहीलाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बाढीको छ ।”
गैँडाकोट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनार देखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोक्रेफाट हर्दी, केलादी, र मार्के बस्ती रहेको छ ।
“एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौ समय लाग्ने मात्रै होइन बैँक सम्म आएर घर फर्किदा एक हजार देखि पन्ध्र सय सम्म खर्च हुने अवस्था रहेको छ”,उहाँले भन्नु भयो,“वडावासीलाई सहजता होस भनेर नै २०७४ सालमा निर्वाचित हुदा देखि सुरु गरेको अभियानलाई अहिले पनि निरन्तरता दिएको छु । ”
वडा वासीहरूलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुदैँ गैँडाकोट आउनुपर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी भएका छन् ।
सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनको लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि स्थानीयलाई निकै कठिन छ । त्यसमध्ये जेष्ठ नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडा अध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको जेष्ठ नागरिकहरू बताउछन ।

 

प्रतिक्रिया