हुप्सेकोटमा खसीबोका विक्री गर्दा प्रतिकिलो १० रुपैयाँ अनुदान


विष्णु गौडेल,हुप्सेकोट,४ कात्तिक,
नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले उत्पादनका आधारमा मासुमा प्रतिकिलो १० रुपैयाँ अनुदान दिने भएको छ ।
किसानलाई प्रोत्साहन गरी पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८÷७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत विक्री गरिएका खसीबोकामा प्रतिकिलो रु १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा प्रतिकिलो रु पाँच अनुदान दिइएको थियो ।
“किसानले पालेको खसीबोका सहकारी मार्फत विक्री गर्दा गत आर्थिक वर्ष देखि प्रतिकिलो पाँच रुपैयाँका दरले अनुदान दिन सुरु गरिएको थियो यो वर्ष देखि प्रतिकिलो रु १० पु¥याएका छौँ”, उहाँले भन्नु भयो “स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो ।”
मासुमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९÷८० मा ३५ हजार छ सय २४ किलो मासुमा पाँच रुपैयाँको दरले अनुदान रकम वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतन टङ्कनाथ घिमिरेले बताउनु भयो ।
“हुप्सेकोट सामाजिक महिला बहुउद्धेश्य सहकारी मार्फत १६ हजार तीन किलो र लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत १९ हजार छ सय २१ किलो मासुमा कुल एक लाख ७८ हजार एक सय २२ रुपैयाँ नगद अनुदान प्रदान गरिएको छ”,उहाँले भन्नु भयो ।
चालु आर्थिक वर्ष २०८०÷८१ का लागि मासुमा अनुदान कार्यक्रम अन्तर्गत चार लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मीले बताउनु भयो ।
गाउँपालिकाले खसीबोकामा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुसी भएका छन् । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाउन अनुदानका माध्यमबाट युवालाई व्यावसायिक बनाउन थालिएको छ ।
युवालाई व्यावसायिक बनाउन सकेको अवस्था गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनु भयो । “गाउँपालिका क्षेत्रभित्रको पहाडी गाउँमा खसीबोकाको पालन धेरै हुने गरेको छ”,उहाँले भन्नु भयो “अनुदानका लागि सङ्घ संस्था, समूह तथा सहकारीमार्फत कारोबार गर्नेलाई मात्र अनुदान प्रदान गरिएको छ ।”
गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ किसानलाई दुधमा प्रतिलिटर १० रुपैयाँ र भकारो सुधार कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो । गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया