प्रथम नवलपुर मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव हुने


३ कात्तिक, नवलपुर

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८० हुने भएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा आगामी मंसिर १ देखि ११ गतेसम्म महोत्सव हुने भएको हो । नेपाल मगर संघ नवलपुर जिल्ला समन्वय समितिको आयोजनामा महोत्सव हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्लामा नै पहिलो पटक आदिवासी जनजाति भित्रका मगर समुदायको आफ्नो परम्परागत संस्कार, संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष भुम राइ मगरले बताउनु भयो ।

महोत्सवमा एक सय वटा स्टल रहने जनाएको छ । यस्तैगरी महोत्सवमा झ्याउरे , कौराह, सालैजु , सोरठी , मगर समुदायको घाटु नाच जस्ता विविध परम्परागत सांस्कृतिक नृत्यहरूको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाहरूको प्रस्तुति , मगर पहिचान झल्किने संरचनाहरू तयार गरी मगर सुमदायका परिकारहरूको प्रदर्शनी , मौलिक भेषभूषा सहित बाजागाजा सहित कावासोती नगरपरिक्रमा , औद्योगिक प्रदर्शनी ,कृषि प्रदर्शनी र बाल उद्यान, विद्यालय स्तरीय विज्ञान प्रदर्शनी लगायतका आर्कषणहरू रहने नेपाल मगर संघ नवलपुरका सचिव नम्सु सुनारी मगरले बताउनु भयो ।

मेलामा ५५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा जनचेतना ¥याली पनि गरिने जनाएको छ । महोत्सव कावासोती नगरपालिका ८ स्थित लुम्वीनि क्याम्पस पछाडिको खेल मैदान हुनेछ । कावासोती नगरपालिका र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति नवलपुर महोत्सवको संरक्षक रहने जनाइएको छ । स्थानीय स्तरमा हुन लागेको यो सांस्कृतिक महोत्सवले मगर समुदायलाई मात्र नभई विभिन्न जातजातिको संस्कार संस्कृति झल्काइनु साथै प्रदर्शनीले जिल्लाको पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

 

प्रतिक्रिया