पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै तेस्रो नवलपुर बालिका सम्मेलन सम्पन्न
मध्यविन्दु (नवलपरासी),३० असोज,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा सञ्चालित बालिका सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नारका साथ आयोजना गरिएको तेस्रो नवलपुर बालिका सम्मेलन–२०८० सम्पन्न भएको हो । बालविवाहको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि पहल गर्ने प्रतिबद्धता सहित १५ बुँदे घोषणा पत्र जारी गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताउनु भयो ।
“१५ बुँदे घोषणापत्रमा किशोरीहरूले आफ्ना मागहरूलाई बुँदात रूपमा प्रस्तुत गरेका छन्”,उहाँले भन्नु भयो,“जसमा उनीहरूले आफूले पाउनुपर्ने हक, अधिकार र कर्तव्यका बारेमा समेत समावेश गरेका छन् ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)नवलपुर सहित, चितवन, रूपन्देही र कपिलवस्तुका किशोरी एवं सरोकारवाला एकै स्थानमा बसि किशोरीका सवाल, राम्रा अभ्यास, सुझावहरूको सङ्कलन र छलफल गरिएको अध्यक्ष ढुङ्गानाले बताउनु भयो ।
सम्मेलनमा किशोरी सशक्तीकरण अभियानमा लाग्न नपाएका भर्खर युवावस्थामा प्रवेश गरेका विभिन्न क्षेत्रका युवती र अभियानमा जोडिएर अभियानको सहजीकरणमा लागेका किशोरीहरुबिच सामूहिक छलफल गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनु भयो ।
“छलफलमा समग्र किशोरीहरूको समस्या, चुनौती, अवसर, सम्भावनाको चित्रण देखिएको थियो, उनीहरूले आफ्ना अनुभव समेत राखेका थिए”,उहाँले भन्नु भयो ।
बाल अधिकार र किशोरी अधिकारका सवालमा तीनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले बताउनु भयो ।
“गण्डकी प्रदेश सभामा किशोर किशोरीका विषयमा धेरै नीति नियमहरू बनिसकेका भए पनि केही बाँकी रहेका छन्”,उहाँले भन्नु भयो,“बन्दै गरेका नीतिहरूमा किशोर किशोरी देखि हरेक तप्काका नीति निर्माणमा भूमिका निर्वाह गर्ने छु ।”
गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेले बालिकाको सबलीकरणका लागि स्थानीय सरकारले विशेष ध्यान दिने बताउनु भयो ।
“बालिकाहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि स्थानीय सरकारले प्राथमिकता दिने छन”,उहाँले भन्नु भयो,“यसका लागि गाउँपालिका महासंघ मार्फत पैरवी गर्ने छौ ।”
कावासोतीकी आशा बिकले आफू किशोरी सशक्तीकरणको अभियानमै जोडिएका कारण पछाडि बसेर सुन्ने आशा अहिले अगाडी बसेर सुनाउने बनेको अनुभव राख्नु भयो ।
“बालबालिका र किशोरीको सवालमा गर्नुपर्ने सामाजिक विकासमा गरिने लगानीको प्रतिफल दीर्घकालीन हुनेमा कुनै सन्देह छैन्”,उहाँले भन्नु भयो ।
कावासोतीबाट सहभागी मनीषा पौडेलले किशोरी सशक्तीकरणका अभियानले अहिलेका बालबालिकामा उर्जा थपेको बताउनु भयो ।
डा.गितु गैरेले किशोरावस्थामा हुने, शारीरिक, मानसिक, संवेगात्मक परिवर्तनका विषयमा खुलेर व्यक्त गर्न पनि नसक्ने र विद्यालयमा समेत ती विषयहरू खासै नसिकाउँदा आफैले जान्नुपर्ने परिस्थिति रहेको बताउनु भयो ।
बालिका सम्मेलनमा नवलपुर, चितवन, रूपन्देही र कपिलवस्तुका किशोरी सञ्जालका पदाधिकारीहरू एवं अभियन्ताहरू समेतको समुपस्थिति रहेको थियो ।
सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनु भयो ।
नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठ वटै स्थानीय तह सहित विभिन्न सरोकारवाला संघ संस्थाहरूले सहकार्य गरेका छन् ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा प्रथम बालिका सम्मेलन वि.सं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ सालमा आयोजना गरिएको थियो ।